ओली हटाएर आफैँ प्रधानमन्त्री बन्ने कांग्रेस सभापति देउवाको घोषणा

विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन

२५ वैशाख, काठमाडौं । नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली सभापति शेरबहादुर देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताएका छन् ।

उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकको शुरुमा बोलेका सभापति देउवाले विश्वासको मत माग्ने प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा उभिन निर्देशन दिए । साथै उनले यो सरकार बदल्नुपर्ने बताए ।

त्यसपछि दिलेन्द्रप्रसाद बडू, गगनकुमार थापा लगायतका सांसदहरुले आफ्नो धारणा राखे । उनीहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने मत राखेका थिए । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार परिवर्तन गर्नुपर्ने मतमा आफू सहमत भएपनि अविश्वासको प्रस्ताव राखेर काम नहुने धारणा राखे ।

देउवाको ठोकुवा : नयाँ सरकार बन्छ, ओलीले चुनाव गराउन पाउँदैनन्

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आएपछि अहिले दर्ता गरेको अविश्वास प्रस्ताव के हुन्छ भन्ने केहीबेर बहस भयो । सांसद मिनेन्द्र रिजालले यसबारे बोलेपछि सभापति देउवा फेरि बोले । उनले अविश्वासको प्रस्ताव दर्ता गर्ने नगर्ने ? यसको संवैधानिक जटिलताबारे छलफल गर्न नेताहरुलाई आग्रह गरे ।

तर यो सरकारलाई विस्थापित गर्ने र नयाँ सरकार बनाउनुपर्छ भन्ने प्रष्ट मत राखेको सांसदहरुले बताएका छन् । सांसद प्रकाश रसाइली स्नेही भन्छन्, ‘सभापतिले विश्वासको मत नदिने मात्र होइन, यो सरकारलाई जसरी पनि विस्थापित गर्नुपर्छ । त्यसका लागि सबै दलसँग छलफल भइरहेको छ भन्नुभयो ।’

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए अल्पमतको सरकार बनाएर संसद भंग गर्नसक्ने विश्लेषण सुनाएका देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि समेत आशंका व्यक्त गरे । राष्ट्रपतिले दल फुटाउने जुटाउने भूमिका खेल्नु उपयुक्त नहुने धारणा सभापति राखेको सांसद बहादुरसिंह लामाले बताए ।

कांग्रेसले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

स्रोतका अनुसार बैठकको निर्णयमा अविश्वासको प्रस्ताव दर्ताबारे लेख्ने कि नखेल्ने भनेर छलफल भएको थियो । सभापति देउवाले ‘यो निर्णय लेख्ने भन्दा पनि गर्ने हो, त्यसका लागि दलहरुसँग छलफल भइरहेको छ’ भनेका थिए ।

२५ वैशाख २०७८, शनिवार १९:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु