हार्ने जान्दा जान्दै उपचुनावमा किन उठे बादल ? यस्तो छ अंकगणित

२४ वैशाख, काठमाडौं । आफैँले जितेर पार्टी परित्याग गरी छोडेको ठाउँमा हुन लागेको उपचुनावमा स्वमं नेता नेता राम बहादुर थापा ‘बादल’ उठेका छन् ।

गत २०७४ सालको निर्वाचनमा वाग्मती प्रदेश अन्य समूहतर्फ बादल माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए ।

तर, बादलले आफू निर्वाचित भएको दल नेकपा माओवादी केन्द्र परित्याग गरेपछि उनको स्थान खाली भएको थियो ।

सोही ठाउँमा निर्वाचन आयोगले जेठ ६ गते उपनिर्वाचन हुँदैछ । उक्त उपचुनावमा चुनाव लड्ने गरी बादलले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् ।

स्वतन्त्र रुपमा डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

बादल नेकपा एमालेको केपी शर्मा ओली पक्षका उम्मेदवार हुन । माधव नेपाल पक्षका देवकोटा चुनावी मैदानमा छन् ।

बादललाई एमाले ओली पक्षको साथ छ । उनको उम्मेदवारी प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहका साझा उम्मेदवार हुन्– देवकोटा ।

देवकोटाको प्रस्तावमा माओवादी प्रदेशसभा संसदीय दलका नेता शालिकराम जमरकट्टेल छन् भने समर्थक कांग्रेस सांसद राधा घले छिन् । माओवादी छोडेर एमालेमा आएका कारण केपी ओली पक्षले बादललाई नै पुनः उम्मेदवार बनाएको छ ।

डा. देवकोटा पनि एमाले निकट बुद्धिजीवी एवं संघीयताविद् हुन् । यसअघि उनी एमालेकै कोटाबाट वाग्मती प्रदेश योजना आयोगको उपाध्यक्ष भइसकेका छन् । तर, मुख्यमन्त्री डोरमणि पौडेल तथा मन्त्रीहरु सिष्टममा नचलेको भन्दै देवकोटाले एकवर्ष काम गरेर ०७६ असारमा पदबाट राजीनामा दिएका थिए ।

विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् । देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

यस्तो छ अंक गणित उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ गरी ३४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ ।

११० सदस्यीय प्रदेशसभामा एमालेका ५६, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २÷२ जना छन् । जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना हाल कांग्रेसतिर छन् ।

एमालेका ५६ जनामा केपी शर्मा ओली पक्षमा ३२ र माधव नेपाल पक्षमा २२ जना सांसद प्रदेश सभा सदस्य छन् । स्थानीय तहका २३८ मतदातामध्ये एमालेको १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन् ।

एमालेको १३३ मा ओली पक्ष र माधव नेपाल पक्षमा विभाजित छन् । मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६८८ र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०८२ मत भार छ । कांग्रेस र माओवादी केन्द्र र जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन् । जसको मतभार २५९२ हुन्छ ।

विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन्, यसको मतभार १८९० हुन आउँछ । यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ । मतदताको तथ्याङ्क केलाउँदा वाग्मती प्रदेशमा एमाले ओली पक्षका उम्मेदवार बादलले चुनाव हार्ने सम्भावना बढी छ ।

एमालेभित्रको विवादका कारण माधव नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल भएका कारण ओली पक्षको उम्मेदवार बादलले सम्भावना बढी देखिन्छ ।

आज दर्ता भएका उम्मेदवारको विरोधमा वैशाख २५ गते उजुरी दिने २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन दिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । हेटौंडाको भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ ।

२४ वैशाख २०७८, शुक्रवार १४:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु