ओली समूहको युवा संघ फुट्यो, बादल र बिष्णुले छुट्टै संगठन बनाउँदै !

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघमा विग्रह आएको छ । युवा संघको पुनर्गठनमा ओली निकटका महेश बस्नेत पक्ष हाबीभएसँगै विग्रह आएको हो ।

संघको इन्चार्जसमेत रहेका बस्नेतले आफुँ पक्षधरलाई मात्रै समेट्दै युवा संघको पुनर्गठन गरेसँगै विग्रह आएको हो । बस्नेतको प्रस्तावमा भेलाले बाजुराका बचनबहादुर सिंहलाई अध्यक्षमा चयन गरेको छ ।

यसअघि पार्टी विभाजनपूर्व रामप्रसाद सापकोटा ‘दीपशिखा’ राष्ट्रिय युवा संघको अध्यक्षको जिम्मेवारीमा थिए । उनी प्रचण्ड–नेपाल समूह तर्फ लागेसँगै ओली पक्षले युवा संघलाई पुनर्गठन गरेको हो ।

तर, रमेश पौडेललाई स्थान दिइएन

ओली पक्षले राष्ट्रिय युवा संघलाई पुनर्गठन गर्दै गर्दा यसअघि उपाध्यक्ष रहेका रमेश पौडेललाई भने बिदाई गरेको छ । अध्यक्षका स्वभाविक दाबेदार उनलाई युवा संघबाटै बिदाई गर्दै नयाँ समूहलाई प्रवेश गराइएको छ ।

नयाँ अध्यक्षमा चयन भएका ३९ वर्षीया बचनबहादुर सिंहको पनि कार्यकाल मात्रै ४ महिनाको हुनेछ । तर, उनी विदाई भएसँगै भने युवा संघको नेतृत्वमा सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष हुनेछन् ।

साथै युवा संघको पदाधिकारी चयनमा पनि साबिक युवा संघका नेताहरु बाहिर परेका छन् । नेता महेश बस्नेतले आफुँ निकटलाई मात्रै समेट्दै केन्द्रीय पदाधिकारी चयन गरेको बताइएको छ ।

युवा संघको पुनर्गठनमा महेश बस्नेत पक्षधरमात्रै हाबी भएपछि गृहमन्त्री रामबहादुर थापा बादल र पार्टी महासचिवसमेत रहेका विष्णु पौडेल पक्षधरका युवाले बहिस्कार गरेका छन् । जनाइएअनुसार भेलालाई बादल र पौडेल पक्षका ८० केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् ।

महेश बस्नेत पक्षले बहिस्कारको बीच संगठनको पुनर्गठन गरेको थियो । जनाइएअनुसार पुनर्गठनप्रति असहमत बादल तथा पौडेल पक्षका युवाहरुले छुट्टै संगठन निर्माण गर्ने तयारीसमेत गरेको बुझिएको छ ।

यसअघि ओली निकटको पत्रकार संगठनको भेलामा पनि पूर्वमाओवादी पक्षधरहरु बहिस्कारमा परेका थिए ।

२७ माघ २०७७, मंगलवार १७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु