शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने प्रचण्ड-नेपालको प्रस्ताव

बिहीबारको देशव्यापी आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

दाहाल–नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनःस्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको ‘अफर’ गरेका छन् ।

देउवासँग भएको गोप्य भेटमा दाहाल र नेपालले संयुक्त संघर्षदेखि सत्ता–सहकार्यसम्मको प्रस्ताव गरेका हुन् ।

दाहाल र नेपालले ओलीको असंवैधानिक कदमको साझेदार बन्नुभन्दा बरु जस्तोसुकै परिस्थितिमा पनि आफूहरूसँग सहकार्य गर्न देउवालाई आग्रह गरेको सम्बद्ध स्रोतको भनाइ छ ।

यसअघि नेकपा एक्लैसँग सरकार बनाउन पुग्ने बहुमत भए पनि अब पार्टी विभाजन भएपछि सरकार बनाउन कांग्रेसको साथ नभई हुन्न ।

प्रतिनिधिसभा पुनःस्थापित भए पनि देउवा दुवै पक्षको तानातानमा पर्ने निश्चितप्रायः छ । त्यसैले विवाद नेकपाको भए पनि शक्ति सन्तुलनको केन्द्रमा देउवा छन् ।

आमहड्ताल सफल भएको दाबी

प्रचण्ड माधव पक्षले आज देशभर आमहड्ताल गर्यो । आमहड्ताल पूर्णरूपमा सफल भएको दाबी यो पक्षले गरेको छ।

केन्द्रीय संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै आमहड्तालमा प्राप्त सर्मथनले आफूहरूलाई उत्साहित बनाएको उल्लेख गरे ।

आमहड्ताललाई बदनाम गराउन, असफल पार्न र नियोजित रुपमा मुठभेड निम्त्याउने सरकारको हर्कता पार्टी र जनताको संयमताले असफल पारिएको भएको विज्ञप्तिमा लेखिएको छ ।

आमहड्तालमा सहभागी नेताकार्यकर्ता र नागरिकलाई धन्यवादसमेत दिइएको छ। आमहड्ताल गिरफ्तार भएकाहरुलाई अविलम्ब रिहा गर्न पनि माग गरिएको छ ।

देशव्यापी गरेको आम हड्ताल आज साँझ ५ बजेपछि खुलेको छ ।

२२ माघ २०७७, बिहीवार २१:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु