सभापतिमा उठ्ने कृष्ण सिटौलाको घोषणा

सबै समूहलाई मिलाउने दाबी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नागरिकका आधारभूत आवश्यकतासमेत सरकारले पूरा गर्न नसकेको आरोप लगाएका छन् ।

पाथीभराको दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मौलिक हक र सर्वोच्चको परमादेशविपरीत कोरोनाको उपचारबाटै सरकार पन्छेको दोषारोपण गरे ।

दिनानुदिन नागरिक सङ्क्रमणको चपेटामा परिरहेका बेला उपचार र सङ्क्रमणको जोखिम व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने उनले औँल्याए ।

अर्को प्रसङ्गमा उहाँले पार्टी महाधिवेशन छिट्टै हुने र त्यसबाटै विभाजनलाई अन्त्य गरेर काँग्रेस अघि बढ्ने बताए ।

“महाधिवेशनबाटै काँग्रेसभित्र देखिएका बेथिति र सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ र सम्भावित खतराबाट मुलुकलाई बचाउन थप चनाखो र बलियो हुने छ”, उनले भने ।

सबै समूहलाई मिलाएर पार्टीको नेतृत्व गर्ने तयारी आफूले गरेको उनले स्पष्ट पारे ।

सिटौलालाई काँग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टीभित्र देखिएको विभाजनले निराशा छाएको जनाउँदै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए ।

सिटौलासँगै पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान आएका थिए । उनीहरु आजै पाथीभराको दर्शन गरेर राजधानी फर्केका छन् ।

४ कात्तिक २०७७, मंगलवार १६:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु