प्रचण्ड फेरी निराश, एक जना पनि मन्त्री नियुक्त गर्न सकेनन्

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आज मन्त्रिपरिषद पूनर्गठन गरेका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त अर्थमन्त्रीमा नेकपाका महासचिव विष्णु पौडेललाई नियुक्त गरेकी छन्। प्रधानमन्त्री ओलीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हटाइदिएका छन्।

उनलाई मन्त्रालयको जिम्मेवारी खोसेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। पोखरेल स्वास्थ्य सामाग्री खरिदको विषयमा सेनालाईसमेत विवादमा तान्ने मन्त्री हुन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्। त्यस्तै सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ नियु्क्त भएका छन् भने लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बनाइएको छ।

श्रेष्ठ त्यो व्यक्ति हुन् जसले दोस्रो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई झण्डैले हराएका थिए।

त्यती बेला प्रचण्ड सिराहा ५ बाट चुनाव लडेका थिए। यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरूङलाई सूचना तथा सञ्चार मन्त्रालयको जिम्मा दिइएको छ। कर्णालीमा झण्डै आफ्ना निकटका महेन्द्र बहादुर शाहीलाई मुख्यमन्त्रीबाट गुमाएका प्रचण्डले केन्द्रमा मन्त्रिपरिषद पुनर्गठन हुँदा अर्का अध्यक्ष ओलीले थाङ्नामै सुताइदिए। यतिसम्मकी दुई अध्यक्षबीच मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी छलफल निष्कर्षमा नपुग्दै ओलीले पेलेरै आज पुनर्गठन गरिदिए।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा भनेर कयौँ पटक बालुवाटार धाइरहने प्रचण्डलाई यसपटक पनि हातमा लाग्यो शून्य भएको छ। अर्का अध्यक्ष ओलीले प्रचण्डलाई छक्काएरै छोडे। कर्णाली प्रदेशमा पनि तत्कालीन एमाले अर्थात केपी ओलीसँग असन्तुष्ट माधव नेपाल समूहले शरण नदिएको प्रचण्ड पत्तासाफ भइसक्थे। नेपाल समूहले तीन मन्त्री आफूले पाए मूख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने बताएपछि प्रचण्ड सहमत भए र शाहीको पद जोगाए।

२८ असोज २०७७, बुधवार १९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु