विष्णु पौडेल रिसाएपछि ओली र प्रचण्डलाई तनाव

दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर नेकपाभित्र अर्को रडाको मच्चिएको छ । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र शंकर पोखरेलले आफ्नो राजनीति बचाउन भालुवाङलाई राजधानी बनाउने निर्णय गरेका छन् ।
पोखरेलको सो निर्णयपछि नेकपाका महासचिव विष्णु पौडेल आक्रोशित भएका छन् । पौडेल असन्तुष्ट भएपछि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका छन् । उनीहरू भालुवाङलाई स्थायी राजधानी बनाउने पक्षमा छन् । राजधानी विषयले सत्तारूढ नेकपाको सचिवालय नै विभाजित बनेको छ ।
नेकपा महासचिव विष्णु पौडेल रूपन्देही–२ का प्रतिनिधिसभा सदस्य हुन् । उनले गत प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जायर गरेका थिए । तर, ओलीले आफ्ना विश्वासपात्र शंकर पोखरेललाई च्यापेपछि पौडेल असन्तुष्ट बनेका हुन् ।
यदि पौडेल भड्के भने ओली र पौडेल दुवैलाई अप्ठेरो पर्ने निश्चित छ । पार्टीमा समीकरण नै फेरिने अवस्था छ । अहिले ओली र प्रचण्डलाई एक ठाउँमा ल्याउने काम पौडेलले नै गरेका हुन् । तर, आफूले चुनावताका भनेका बाचा पूरा नहुने भएपछि आगामी चुनावमा धेरै असर पर्ने देखिन्छ ।
बुटवल पुरानो, व्यापारिक, स्रोत साधन र संरचनायुक्त सहर रहेकाले प्रदेश राजधानीका लागि विकल्पहीन रहेको पौडेलको तर्क रहँदै आएको छ । आफ्नो प्रतिबद्धता र चाहनाविपरीत प्रदेश राजधानीबारे निर्णय भएपछि उनले नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डसँग चर्को असन्तुष्टि राखेको स्रोतले जनाएको छ ।
१९ असोज २०७७, सोमवार १२:५८ बजे प्रकाशित