बामदेव पत्नी तुलसाले गरिन मन्त्री पद अस्वीकार

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमकी पत्नी तुलसा थापाले मन्त्री पद अस्वीकार गरेकी छन् ।
अध्यक्षद्वयबीच छलफल चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अनौपचारिक माध्यमबाट उपाध्यक्ष गौतमकी पत्नी थापालाई मन्त्री बनाउने प्रस्ताव पठाएका थिए ।
जवाफमा गौतम पत्नी तुलसाले आफू पार्टी निर्णयको पक्षमा रहेको भन्दै मन्त्री पद् अस्वीकार गरेकी हुन् ।
गौतम निकट एक नेताका अनुसार शीतल निवासमार्फत ओलीले सन्देश पठाएका थिए । प्रधानमन्त्री ओलीले अहिले विवाद बढ्ने भएकाले उपाध्यक्षलाई नभएर तपाईँ मन्त्री बन्नु पर्यो भनेर सन्देश पठाएका र तुलसाले आफूलाई मन्त्री नचाहिएको भन्दै पार्टी निर्णय अनुसार चल्नका लागि आग्रह गरेकी छन् ।
तुलसाले ओलीलाई आफू पार्टीको निर्णय अनुसार चल्ने भन्दै निर्णयको कार्यान्वयनका लागि आग्रह गरिन् । उनले भनिन्, मलाई मन्त्री चाहिँदैन, पार्टी निर्णय कार्यान्वयन होस् । पार्टीले अर्को चुनावमा पनि जित्ने र एकतावद्ध भएको हेर्ने मेरो पनि चाहना छ । उहाँ गौतम को पार्टीमा महत्वपूर्ण योगदान छ । त्यसै अनुसारको व्यवहार हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठनका समयमा उपाध्यक्ष गौतमलाई मन्त्री बनाउन खोजेका छैनन् ।
गौतमको सट्टामा श्रीमती तुलसालाई मन्त्री बनाउन सकिने भन्दै प्रधानमन्त्री ओलीले सन्देश पठाएका स्रोतको दावी छ ।
१७ असोज २०७७, शनिवार २३:४१ बजे प्रकाशित