कोरोना महामारीः चीनलाई उछिन्दै नेपाल

नेपालमा कोरोना संक्रमितहरुको संख्या ८४,५७० पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार १ सय २० जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८४ हजार ५ सय ७० पुगेको हो ।

योसँगै नेपालको संक्रमित संख्या चीनको हाराहारी पुगेको छ । पछिल्ला दिन दैनिक रुपमा देखिँदै गएको संक्रमितहरुको दर आइतबार पनि कायम रहने सम्भावना छ । यसो हुँदा आइतबार नेपालले चीनलाई जित्ने देखिएको छ ।

चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको शनिबारसम्मको कुल संख्या ८४ हजार ५ सय ७० पुगेको छ । नेपालमा सरदर दैनिक २ हजारभन्दा बढी संक्रमित देखिरहेकाले आइतबार नेपालले चीनलाई जित्ने निश्चित प्रायः छ ।

विश्वभर फैलिनुअघि चीनकै उहानबाट सुरु भएको कोरोना महामारी अहिले त्यहाँ कन्ट्रोल भैसकेको छ । शनिबार चीनमा निकै कम १० जना नयाँ संक्रमितहरु देखा परेका छन् ।

त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन । सुरुमा चीनमा देखिएको सो महामारी युरोप हुँदै पछिल्लो समयमा अमेरिका, भारत, ब्राजिल फैलिएको छ ।

नेपालमा पनि निकै तिब्र रुपमा संक्रमितहरुको संख्या बढिरहेको छ । नेपालमा शनिबार १२ हजार ९७८ जनामा पीसीआर परीक्षण हुँदा २१ सय २० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै देशभर सक्रिय संक्रमित २१ हजार ३०२ रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ७७३ र होम आइसोलेशनमा ११ हजार ५२९ रहेका छन् । त्यस्तै २४ घण्टामा थप २०४४ जना निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ६२,७४० पुगेको गौतमले जानकारी दिए ।

१८ असोज २०७७, आइतवार ०६:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु