नेकपा सचिवालय बैठक बस्दै, बामदेवबारे निर्णय हुने
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बस्दैछ ।
बालुवाटारमा विहीबार बिहान ११ बजे बस्ने नेकपा सचिवालयको बैठक बैठकले राष्ट्रियसभाको रिक्त सीटमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्नेछ ।
यसअघि नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच गोप्य छलफल भएको छ ।
गौत्तमले राष्ट्रियसभामा जाने ईच्छा दोहोर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
आफूलाई परेको अप्ठ्यारोलाई पार लगाउन प्रधानमन्त्री ओलीले बुधबार साँझ बालुवाटारमा अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । तर, कुनै निश्कर्ष निस्किएन ।
प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्री ओलीले बुधबार राति नै बामदेव गौतमसँग बालुवाटार ‘गोप्य’ छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओली राष्ट्रियसभाको रिक्त सीटमा अर्थमन्त्री डा. युवराज खतिवडालाई लैजान चाहन्छन् । तर, उपाध्यक्ष गौतमले आफूलाई मनोनित गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको ईच्छामा तगारो हालिदिएका छन् ।
राष्ट्रियसभामा अहिले एउटा सीट रिक्त छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने यो सीटमा डा. खतिवडालाई नै निरन्तरता दिने र अर्थमन्त्रालय उनैको जिम्मा लगाउने प्रधानमन्त्री ओलीको चाहना देखिन्छ । तर, राष्ट्रियसभाको यो सीटमा उपाध्यक्ष गौतमले दाबी गरेपछि प्रधानमन्त्री ओली तनावमा छन् ।
विहीबार साँझको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग डा. खतिवडालाई नै राष्ट्रियसभामा पठाऔं भन्ने प्रस्ताव गरेका थिए । तर, प्रचण्डले वामदेवलाई टार्न नसकिने प्रतिक्रिया दिएपछि प्रधानमन्त्री एकाएक गम्भीर देखिएको स्रोतले बतायो ।
अर्थमन्त्री डा. खतिवडालाई यही भदौ २० गतेभित्र राष्ट्रियसभामा मनोनित गरिएन भने सोही दिनदेखि संविधानतः उनको मन्त्री पद समाप्त हुनेछ ।
१८ भदौ २०७७, बिहीवार ०७:२० बजे प्रकाशित