बामदेवबारे ओली-प्रचण्ड छलफल, निर्णय आउन बाँकी
प्रधानमन्त्री ओलीले लिए डोल्पाबाट चुनाव लडाएर जिताइदिने जिम्मा
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच उपाध्यक्ष बामदेव गौत्तमको पछिल्लो अभिव्यक्तिबारे छलफल भएको छ ।
पछिल्लो समय उपाध्यक्ष गौत्तमले आफुलाई राष्ट्रिय सभामा लैजाने पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् । राष्ट्रिय सभामा एक सिट सरकारले मनोनित गर्ने सिट खाली छ । उक्त पदमा आफुलाई लैजाने पार्टीको निर्णय छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्ता दिन खोजेको भन्दै गौत्तमले पार्टीको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
गौत्तमको यो अभिव्यक्तिले नेकपाभित्र एक खालको तरंग आएको छ ।
पार्टीभित्रको विवाद मिलाउनको लागि वामदेवले ओलीलाई साथ दिएका थिए । उनले एकताको पक्षमा भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए । र, त्यसमा ओलीले संसदको यो कार्यकालभरि सरकारको नेतृत्व गर्ने र महाधिवेशनसम्म अध्यक्षपनि रहने उल्लेख गरिएको थियो । सचिवालयमा अर्का अध्यक्ष पुष्पकमल दाहाल समूहलाई साथ दिईरहेकै अवस्थामा वामदेवले एकाएक क्याम्प परिवर्तन गरी आफूलाई ओली समूहमा उभ्याएका थिए ।
तर, उनै ओलीबाट धोका हुन लागेको भन्दै गौत्तमले मुख फोरेका छन् । उनले आफुलाई राष्ट्रिय सभामा नलगे प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो पर्ने चेतावनी समेत दिएका छन् ।
मलाई राष्ट्रियसभामा नलगे ओलीलाई गम्भीर अप्ठ्यारो आइलाग्छ : बामदेव
अध्यक्षद्धय ओली र प्रचण्डबीच यही विषयमा छलफल भएको जनाइएको छ । तर, निर्णय केही आएको छैन् ।
प्रधानमन्त्री ओलीले लिए डोल्पाबाट चुनाव लडाएर जिताइदिने जिम्मा
नेकपानिकट उच्च स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले नेता गौतमलाई डोल्पाबाट चुनाव लड्न सुझाव दिएका छन् । यसका लागि डोल्पाबाट निर्वाचित नेकपाका सांसद धनबहादुर बुढाले राजीनामा दिएर क्षेत्र खाली गरिदिने भएका छन् ।
हुन त बुढाले राजीनामा दिने र बुढाको क्षेत्रबाट गौतम चुनाव लड्ने कुरा यसअघि नै चर्चामा थियो । तर, त्यहाँका जनताले बुढालाई राजीनामा नदिन दबाब दिएका थिए ।
वामदेवलाई संसदमा ल्याउनको लागि ओलीमात्रै होईन, अर्का अध्यक्ष दाहाल पनि सकारात्मक छन् । दाहालले सार्वजनिक रुपमै अब प्रधानमन्त्री बन्ने पालो वामदेवको भनेर सम्बोधन गरेका छन् ।
दाहालकै अग्रसरतामा यसअघि वामदेवलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट उठाउने तयारी भएको थियो । त्यसको लागि उक्त क्षेत्रका सांसद हालका मन्त्री रामवीर मानन्धरले राजीनामा दिने कुरा पनि आएको थियो । तर, ओलीको असहमतिका बावजुद वामदेव काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव उठ्ने च्याप्टर क्लोज भएको थियो ।
गौतम प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट कांग्रेस नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । उनलाई संसद्मा ल्याउन नेकपा अध्यक्षद्धय ओली र दाहालले पूनः एकपटक गृहकार्य सुरु गरेका छन् ।
हुन त वामदेवको लागि यसअघि नै सांसद बुढाले राजीनामा दिएर बाटो खोल्न आफू तयार रहेको सन्देश दिएका थिए । ओलीले चुनाव लड्न तयार हुन गौतमलाई भनेका छन र चुनाव जिताउने जिम्मा आफूले लिने बताएको स्रोतको दाबी छ ।
बामदेवको राष्ट्रियसभामा लानुपर्ने जिकिर
आफुलाई राष्ट्रिय सभामै लगिनुपर्ने बामदेवको जिकिर छ ।
कुनैबेला राष्ट्रियसभामा जान्न बरु संसदीय चुनाव लड्छु भनेका बामदेव गौतमलाई कहिले पाल्पा त कहिले डोल्पा देखाइयो । काठमाडौंबाट बामदेवका लागि सिट छाड्छु भन्दै रामवीर मानन्धर अचानक हात उठाउन थाले । हेर्दाहेर्दै समय गुज्रियो । संसदीय चुनाव भएको अढाई वर्ष कट्यो । बामदेवका लागि उपचुनाव ‘जुनतारा खसाउने प्रेमीको गफ’ सावित भयो ।
यहि कारण गौत्तम अब चुनाव लड्ने तिर नभइ सिधै सांसद हुन चाहन्छन् ।
नेकपाभित्र विवाद चल्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेवलाई सांसद बनाएर प्रधानमन्त्री बनाउने सम्मको प्रस्ताव गरे । उनी दंग परे । बामदेवले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखी संविधानको धारा परिवर्तनको प्रस्ताव राखिरहे । तर, यो ओली र प्रचण्डबीचको टकरावमा राजनीतिक अस्त्रमै सिमित भयो ।
बामदेवलाई राष्ट्रियसभामा नलगिने, डा. खतिवडालाई दोहोर्याउने तयारी
बामदेवलाई राष्ट्रियसभामा लाने नेकपा सचिवालयले निर्णय गरेको थियो । उनलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा लाने गरी निर्णय भएको थियो । तर, प्रधानमन्त्री ओलीले उक्त निर्णय पुरानो र समाप्त भइसकेको बताए ।
आफूले गरेको योगदानको कदर नभएको र पटक पटक धोका खाएको भन्दै बामदेव चिढिएका छन् । र राष्ट्रिय सभामा जाने आफ्नो इच्छा रहेको बताएका छन् ।
गत शुक्रबार ओलीसँग दुई घन्टा लामो भेटमा पनि गौतमले आफू राष्ट्रियसभामा जान चाहेको र सरकारमा महत्वपूर्ण मन्त्रालयसहित जिम्मेवारी लिन तयार रहेको बताएका थिए । तर, ओलीले सकारात्मक उत्तर नदिएको बुझिएको छ । गौतमले भने आफ्नो आर्थिक नीति लागु गर्नका लागि अर्थ मन्त्रालयको जिम्मेवारी लिने चाहना देखाएका थिए ।
अर्थमन्त्री युवराज खतिवडा सांसद मनोनित नभए स्वतः पदमुक्त हुनेछन् ।
तर, ओलीका लागि खतिवडा नै प्रीय छन् । यो बुझेर गौतम निकटले खतिवडाको आलोचना गर्दै आएका छन् । पार्टीमा कुनै योगदान नभएको व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिएको भन्दै आलोचना गरिरहेका छन् ।
१६ भदौ २०७७, मंगलवार २०:०६ बजे प्रकाशित





