भदौ महिनाभर गाडी चल्न नदिने निर्णय
सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने भएको छ ।
मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लब्याएको एक मन्त्रीले बताए ।
बिभिन्न देशमा श्रम स्वीकृति दिने सरकारको निर्णय
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रोजगार खुलाएका विभिन्न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ ।
“रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो,” एक मन्त्रीले भने ।
त्यस्तै मन्त्रिपरिषद्को आजको बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित उडान केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ ।
यसबारेमा सम्बन्धित मन्त्रालयले कार्ययोजना तयार पार्ने बताइएको छ ।
यसअघि सरकारले दैनिक पाँच सयभन्दा बढी नागरिक नल्याउने निर्णय गरेको थियो ।
दसैँ, तिहार, छठ, इदलगायत पर्व नजिकिँदै गरेकाले यति सङ्ख्याले मात्रै नपुग्ने भएर नियमित उडान थप गर्न लागेको स्रोतले जानकारी दियो । यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवास कमिटीले पनि उडान थप गर्न आग्रह गरेको थियो ।
यस्तै सरकारले कुनै कम्पनीले शतप्रतिशत पीसीआर परीक्षण, टिकट शुल्क र क्वारेन्टिन खर्च बेहोर्ने भए ती कम्पनीका लागि पनि उडान थप गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
यसो गर्दा उडान सङ्ख्या बढ्ने टिकटमा प्रतिस्पर्धा भएर भाडादर सस्तो हुने पनि मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।
यस्तै यसअघि भदौ १५ गते मध्यरातसम्म रोक लगाएको आन्तरिक उडान, लामो, मध्यम तथा छोटो दूरी चल्ने सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।
यसैगरी आजको मन्त्रिपरिषद्को बैठकले ल्हासाको महावाणिज्यदूतमा नवराज ढकाललाई नियुक्त गरेको छ ।
१४ भदौ २०७७, आइतवार २१:४९ बजे प्रकाशित