काठमाडौंमा खतराको संकेत : उपत्यकामा घरमै बसेकालाई संक्रमण देखिने क्रम बढ्यो
कालीमाटीका एक २५ वर्षीय इन्जिनियर कोरोनाभाइरसको सन्त्रास फैलिएपछि चार महिनादेखि घरबाट बाहिर निस्केका थिएनन्।
सावधानी अपनाएर बसेका थिए। तर, अचानक ज्वरो देखिएपछि उनलाई आशंका लाग्यो र जँचाए।
रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनी आश्चर्यमा परेका छन्।
‘चार महिनादेखि बाहिर ननिस्किएको र सक्दो सावधानी अपनाएको मलाई कसरी संक्रमण देखियो। म छक्क परेको छु,’ उनी भन्छन्, ‘मजस्तो घरमै बसेको मान्छेपनि संक्रमित भए भने उपत्यकामा कोही पनि सुरक्षित छैनजस्तो लाग्छ।’
उक्त वडाकी स्वास्थ्यकर्मी सुशीला वस्तीका अनुसार कालिमाटीमा यस्ता धेरै घटना छन्।
‘कालीमाटी एरियामा ५१ जनामा संक्रमण भेटिसकेको छ,’ उनले भनिन्, ‘कन्ट्याक्ट ट्रेसिङका लागि संक्रमितसँग बुझ्न जादा स्थानीयलाई देखिने क्रम एकदम बढेको छ।
उहाँहरु कहीँकतै जानुभएको छैन तर पनि संक्रमण भेटिएको छ।’
कलंकी, बल्खु, कुलेश्वर समेटिएको काठमाडौं महानगरको वडा नम्बर १४ मा संक्रमितको संख्या १ सय २३ पुगेको छ।
त्यहाँ देखिएका संक्रमितमध्ये अधिकांशमा ट्राभल हिस्टी नदेखिएको वडाका स्वास्थ्यकर्मी ध्रुव श्रेष्ठले बताए।
‘पछिल्लो समय संक्रमितको रिपोर्टिङ गर्दा काठमाडौं बाहिरबाट आएर सरेको देखिँदैन,’ उनले भने, ‘एउटै घरमा कतिपयले डेरामा बस्नेबाट, कतिपयलाई घरबेटीबाट, कतिपयलाई अफिसबाट, साथीहरु, आफन्तबाट सरेको देखिन्छ।’
काठमाडौंको अर्को हटस्पट क्षेत्र असन, महाबौद्ध पर्ने वडा नम्बर २७ मा पछिल्लो समय देखिएका अधिकांश संक्रमितको ट्राभल हिस्ट्री नभेटिएको वडाकी स्वास्थ्यकर्मी मनिषा श्रेष्ठले बताइन्।
यस वडामा ९६ जनामा संक्रमण पुष्टि भइसकेको छ।
स्वास्थ्य कार्यालय काठमाडौंकी सूचना अधिकृत पार्वती थापाले ट्राभल हिस्ट्री नभएर घरमै बसेकाहरुमा संक्रमण देखिएको बताइन्।
‘शनिबारमात्रै एउटै घरका ९ जना, ७ जना पनि संक्रमण भेटिएको छ,’ उनले भनिन्, ‘उहाँहरुको त कन्ट्याक्ट हिस्ट्री छैन। तर अन्यसँग सम्पर्कमा आउँदा उहाँहरु संक्रमित भएको हुनसक्छ।’
शनिबार उपत्यकामा भेटिएका १ सय ८६ संक्रमितमध्ये ८० प्रतिशत स्थानीय भएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले बताए।
आइतबार मात्रै उपत्यकाका तीन जिल्लामा ४ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ।
‘अहिले उपत्यकामा धेरैजसो ट्राभल हिस्ट्री नभएकै संक्रमितहरु छन्। हिजो देखिएकामध्ये लगभग ८० प्रतिशत काठमाडौंकै हुन्,’ डा। पाण्डेले भने, ‘केही बाहिरबाट मानिस आएर यहाँकालाई सारेको पनि हुनसक्छ भने केही सानो रुपमा समुदायमै सरेको पनि हुनसक्छ।’
जनस्वास्थ्यविद् डा।रवीन्द्र पाण्डेले समुदायमै संक्रमण फैलिएको कारण स्थानीयहरुमा संक्रमण बढ्ने क्रम देखिएको बताए। उनले परीक्षणको दायरा बढाउँदै चाँडै संक्रमितहरुलाई आइसोलेट गर्न सुझाव दिए।
‘स्थानीयलाई नै संक्रमण बढी देखिनुले समुदायमा भाइरस फैलिसकेको देखाउँछ,’ उनले भने, ‘अफिस, कारखाना, पसलमा पनि मानिसहरु संक्रमित भएका छन्।
कार्यथलोबाट घरभित्र आउँदा घरका अन्य मानिसपनि संक्रमित भइरहेका हुन्छन्। त्यसैले बढीभन्दा बढी परीक्षण गरेर पहिल्यै संक्रमितलाई छुट्टाउँदा संक्रमण रोक्न सकिन्छ।’
उपत्यकामा अब जोखिम क्षेत्र छुट्टाएर पुल टेस्टिङको आवश्यकता भइसकेको उनले बताए। अहिले हजार, १५ सयको परीक्षण हुँदा चार पाँच सयको हाराहारीमा संक्रमित भेटिन थालेकाले परीक्षण बढाउँदा संक्रमित अझै भेटिने उनले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले उपत्यकामा संक्रमणको जोखिम बढेकाले परिवारका सदस्यलाई जोगाउन र स्थानीय संक्रमण रोक्न प्रत्येक व्यक्तिले विशेष ध्यान दिनुपर्ने बताए।
‘हामी जानी वा नजानी संक्रमण भित्र्याउन जिम्मेवार रहन्छौं। आफ्ना साथीभाइ, आफन्त र चिनजानका मानिसमा भाइरस संक्रमण छैन भनेर मान्नु भएन।
म बाहेक अरुलाई संक्रमण हुनसक्छ भन्ने व्यवहार गर्नुपर्छ,’ उनले भने, ‘काम, कार्यालयबाट घर प्रवेश गर्दा नियमित हात राम्ररी साबुनपानीले धुनुपर्छ।
वृद्धवुद्धाहरुको नजिकै नजाने, कोठाभित्र प्रकाश आउने, हावा ओहोरदोहोर हुने वातावरण मिलाउनु पर्छ।’
१४ भदौ २०७७, आइतवार २२:०३ बजे प्रकाशित