बिनु सुवेदीलाई सुनिता बरालले धम्क्याएकोप्रति पत्रकार महासंघको आपत्ति

समाचारको विषयलाई लिएर अनलाइनखबरकर्मी बिनु सुवेदीलाई नेकपा एमालेको भातृ संगठन अनेरास्ववियकी अध्यक्ष सुनिता बरालले समाजिक सञ्जाल ट्वीटरमार्फत कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

शुक्रबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी पत्रकार सुवेदीलाई एमालेको भातृ संगठन अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले कुटपिट गर्ने भनी धम्काएको घटनाप्रति विरोध जनाएका हुन् ।

‘पत्रकार सुवेदीलाई झापामा रिर्पोटिङ गरेर फर्किएपछि ‘विनु सुवेदीले कुन दिन झापाली जनताको रामधुलाई भेट्छिन्’ भनी एमाले कार्यकर्ताबाट गरेको ट्वीटमा अनेरास्ववियु अध्यक्ष बरालले असोज ६ गते बिहीबार कमेन्ट गर्दै जरुरत पर्लाजस्तो छ भनेर धम्की दिएको महासंघमा जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै महासंघले यस किसिमको हर्कतको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रता र अधिकार सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

‘सामाजिक सञ्जालमा विचार अभिव्यक्त गर्नु र त्यसप्रति टिकाटिप्पणी हुनु अभिव्यक्ति स्वतन्त्रता हो । तर अभिव्यक्ति स्वतन्त्रताका नाममा एउटा जिम्मेवार व्यक्तिबाट सामाजिक सञ्जालमार्फत पत्रकारलाई आक्रमणको ठाडो धम्की दिनु अत्यन्त दुःखद् र अशोभनीय काम हो ।’ विज्ञप्तिमा उल्लेख छ ।

 

७ असोज २०७९, शुक्रवार १६:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु