प्रधानमन्त्री ओलीले दिए कोरोनाबाट बच्दै निरोगी बन्ने ५ शुत्र

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै निरोगी बन्ने बिभिन्न ५ शुत्र दिएका छन् ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न सक्ने भन्दै यसबाट बच्दै निरोगी बन्ने बिभिन्न ५ शुत्र दिएका हुन् ।

‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ खोप पत्ता नलागेसम्म यस महामारीमाथि नियन्त्रण गर्ने उपलब्ध उपाय भनेकै हाम्रो आनीबानी र आहार–विहारमा आवश्यक सतर्कता अपनाउनु हो’ प्रधानमन्त्री ओलीले भने ।

हालसम्मका उपायहरु भाइरसलाई व्यक्तिबाट व्यक्तिमा सर्न नदिन सामाजिक दूरी कायम गर्ने र हरेक व्यक्तिमा प्रतिरोधी क्षमता बृद्धि गर्ने रहेको भन्दै उनले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न आग्रह गरे ।

यस्तो छ, प्रधानमन्त्री ओलीका निरोगी बन्ने ५ शुत्र

पहिलो– यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

दोस्रो– लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

तेस्रो– भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाइमा एकदमै ध्यान दिऊँ ।

चौथो– स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

पाँचौं– उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ ।

‘कोरोना भाइरसबाट जीवन गुमाउनेको संख्या प्रतिशतमा हेर्ने हो भने हामीले सामान्य ठानेका मौसमी रुघाखोकीबाट मर्नेको भन्दा कम छ भन्ने त तथ्यांकले नै बताएको छ्र’ ओलीले सम्बोधनका क्रममा भने ।

‘नेपालीको रोग प्रतिरोधी क्षमता असाधारण छ’

राष्ट्रका नाममा गरेको सम्वोधनमा उनले नेपालीको मनोबल उच्च भएको र रोग प्रतिरोधी क्षमता असाधारण भएको पनि बताए ।

उनले नेपालको प्राचीन खाद्य प्रणाली र भान्सामा प्रयोग हुने तत्वहरुले रोग प्रतिरोधी क्षमता बढाउन मद्दत गरेको पनि बताए ।

उपलब्ध आहारलाई स्वच्छ र सफा बनाएरमात्र खाने, लकडाउनको फुर्सदमा घरभित्रै प्रशस्त्र व्यायाम गरेर शारीरिक तन्दुरुस्ती कायम गर्ने सल्लाह उनले दिएका छन् ।

यस्तै भाइरस फोहोरमा रमाउने भन्दै उनले आफ्नो र बासस्थान वरपरको सरसफाइमा ध्यान दिन र पर्याप्त आराम गर्न पनि आग्रह गरेका छन् ।

उनले अन्यको तुलनामा कोरोनाबाट मृत्यु हुनेको औषत थोरै भएको भन्दै यसलाई सबै मिलेर जित्नुपर्ने पनि बताएका छन् ।

बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो

मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गरेका छन् ।

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताए । उनले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गरे ।

घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

विश्वकै अवस्था हेर्दा कोभिडको महामारी अझै केही समय रहने देखिएको भन्दै यसलाई समुदायमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले केही नयाँ कदमहरु चाल्ने पनि उनले बताएका छन् ।

समस्यामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काइन्छ

प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ उनले भनेका छन् ।

छिमेकी मित्र राष्ट्र भारतबाट घर फर्किनेहरु विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधनमन्त्री ओलीले बताए ।

‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ उनले भनेका छन् ‘तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’

१२ जेठ २०७७, सोमवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु