थप ९० जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ७७२, ५५ हजार बढी क्वारन्टीनमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप ९० जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि गरेको छ।
मङ्गलवार अपराह्ण नियमित प्रेस ब्रीफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिए।
यो अहिलेसम्म दैनिक वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
सङ्क्रमितहरू विभिन्न जिल्लामा फेला परेका हुन्।
डा .देवकोटाका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट बिदा भएका छन्।
अब निको हुनेको कुल सङ्ख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।
अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्।
मङ्गलवार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२ जना क्वारन्टीनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो अहिलेसम्म क्वरान्टीनमा भएका मानसिको सर्वाधिक सङ्ख्या हो।
तीमध्ये प्रदेश नं ५, प्रदेश नं २, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका क्वारन्टीनमा सर्वाधिक सङ्ख्यामा मानिसहरू छन्।
उनीहरू अधिकांश भारतबाट फर्किएका हुन्।
अहिले प्रदेश नं ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हजारौँ मानिसहरू क्वारन्टीनमा छन् नेपालमा अहिलेसम्म ५४,४२४ वटाभन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।
अहिले छिमेकी देश भारतमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ।
भारतबाट बिनपरीक्षण अनियन्त्रित रूपमा नेपालीहरू फर्किँदा रोग फैलिने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
१३ जेठ २०७७, मंगलवार १५:१० बजे प्रकाशित













