समस्यामा परेका नेपालीलाई तत्काल स्वदेश फर्काइन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने योजना छिट्टै ल्याउने बताएका छन् ।

सोमबार राष्ट्रका नाममा संबोधन गर्दै उनले स्वदेश फर्कनु पर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्था सम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गर्ने बताएका छन् ।

‘विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका देशबासीहरुलाई सरकारले समयमै उद्दार गर्छ । समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै सुरु गरिनेछ’ उनले भनेका छन् ।

छिमेकी मित्र राष्ट्र भारतबाट घर फर्किनेहरु विश्व स्वास्थ्य संगठनको प्रोटोकलअनुसार सीमा पार गर्नुअघि अनिवार्य परीक्षण गर्नुपर्नेमा त्यसो नभएका कारण समुदायस्तरमा महामारी फैलिएको प्रधनमन्त्री ओलीले बताए ।

‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो’ उनले भनेका छन् ‘तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ ।’

बाहिरबाट आउनेको बेलैमा परीक्षण नहुँदा संक्रमण फैलियो
मित्रराष्ट्र भारतबाट आएका नेपालीको बेलैमा परीक्षण हुन नसक्दा कोरोना संक्रमण फैलिएको देखिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

उनले कोही पनि सुखले विदेशमा काम गर्न नजाने भन्दै देश फर्किएकाहरुलाई समयमै आफ्नो परीक्षण गराउन पनि फेरि आग्रह गरेका छन् ।

यसका साथै उनले परीक्षण र क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय तहको भूमिका निकै महत्वपूर्ण भएको पनि बताए । उनले विदेशबाट फर्किएकाहरुको आत्मसम्मानमा ठेस पुग्नेगरी कसैलाई पनि नबोल्न र व्यवहार नगर्न पनि उनले आग्रह गरे ।

घर फर्किएकाहरुलाई चिकित्सकको सल्लाहअनुसार क्वारेन्टाइनमा बस्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

विश्वकै अवस्था हेर्दा कोभिडको महामारी अझै केही समय रहने देखिएको भन्दै यसलाई समुदायमा फैलिन नदिन स्वास्थ्य मन्त्रालयले केही नयाँ कदमहरु चाल्ने पनि उनले बताएका छन् ।

१२ जेठ २०७७, सोमवार १२:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु