सिक्किमलाई छुट्टै देश भनिएपछी दिल्लीमा हंगामा

भारतको दिल्ली राज्य सरकारले बिहीबार निकालेको एउटा विज्ञापनमा सिक्किमलाई नेपाल र भुटानजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएको विषयलाई लिएर बबाल मच्चिएको छ ।

दिल्ली सरकारअन्तर्गत सिभिल डिफेन्स कर्पले स्वयंसेवकका लागि विज्ञापन गरेको थियो ।

उक्त विज्ञापनमा आवेदनका लागि आवश्यक पर्ने पूर्वयोग्यतामा भारतीय नागरिक वा सिक्किम, भुटान वा नेपालको नागरिक र दिल्लीको बासिन्दा हुनुपर्ने उल्लेख थियो ।

विज्ञापनमा सिक्किमलाई भुटान र नेपालजस्तै बेग्लै मुलुकका रुपमा उल्लेख गरिएका कारण दिल्ली सरकारको व्यापक आलोचना भएको छ । विज्ञापनलाई लिएर विवाद चर्किँदै गएपछि दिल्ली सरकारले जिम्मेवार अधिकारीलाई निलम्बनसमेत गरेको छ ।


उक्त विज्ञापन प्रकाशित भएपछि सिक्किम सरकारले तत्काल आपत्ति जनाउँदै त्यसबाट अत्यन्त चोट पुगेको भन्दै त्यसलाई तत्काल हटाउन माग गरेको थियो । सिक्किम सरकारका मुख्यसचिव एससी गुप्ताले दिल्ली सरकारलाई पत्र लेख्दै सिक्किमका जनताले भारतीय नागरिक भएकोमा गर्व गर्ने गरेको भन्दै विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुगेको जनाएका थिए ।

‘१६ मे १९७५ मा भारतको २२ औं राज्यका रहँदै आएका सिक्किमका जनताका जसले महान भारतको नागरिक हुनुमा गर्व गर्छन् ।

यो विज्ञापनले उनीहरुलाई अत्यन्त चोट पुऱ्याएको छ त्यसैले उक्त विज्ञापन फिर्ता गर्न अनुरोध गर्छौं,’ पत्रमा लेखिएको थियो ।

साथै सिक्किमका मुख्यमन्त्री प्रेमसिहं तामाङ (गोले)ले पनि विज्ञापनमा भएको गल्ती भत्सर्नायोग्य भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेका थिए ।

११ जेठ २०७७, आइतवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु