प्रचण्डसंग भेटेपछि देउवाको बोली फेरियो, भने ओलीले चुनाव गराउदैनन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने आफूलाई विश्वास नलागेको बताएका छन् ।
प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेको सभापति देउवाको भनाइ थियो ।
पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोलेका देउवाले भने, ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे। ओलीले कहाँ चुनाव गराउँछन् गराउँदैनन् । चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’
प्रधानमन्त्री ओलीले वैशाखमा चुनावको घोषणा गरेका छन् । तर प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।
ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएकोले पार्टीले आन्दोलन घोषणा गरेको देउवाको भनाइ छ ।
तर सर्वोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दबाव कांग्रेसले नदिने उनले प्रष्टाएका छन्।
‘हामीलाई विश्वास छ अदालतले विवेक प्रयोग गर्नेछ । अदालतमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्न मिल्दैन। हाम्रो पार्टीले अदालतलाई धम्क्याउने र तर्साउने काम गर्दैन,’ उनले भने।
स्वतन्त्र न्यायपालिकाको पक्षमा पार्टी रहेको उनको भनाइ थियो ।
सरकार जनताको सेवक भए पनि जनअपेक्षाअनुसार ओली सरकारले काम नगरेको देउवाको आरोप छ ।
‘सरकार जनताको सेवक हो मालिक होइन । जनताप्रति सरकार उत्तरदायी हुनुपर्ने हो तर भएन,’ उनले भने ।
न्यायपालिकालाई दबाव वा प्रभाव पर्ने गरी राष्ट्रपति, प्रधानमन्त्री या कुनै पनि दलका नेताले बोल्न नमिल्ने देउवाले बताए ।
‘अदालतले नियम, कानुन र ऐन हेर्छ, विवेक प्रयोग गर्छ,’ उनले भने, ‘पार्टीले सर्वोच्चमा विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन।’
उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा-प्रचण्ड नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएको पनि बताएका थिए ।
‘उहाँहरू आउनुभएको थियो । अदालतमा विचाराधीन मुद्दामा हामी पनि बोल्दैनौं, तपाईंहरू पनि नबोल्नुस् भनेको हो,’ उनले भने।
प्रचण्ड- नेपालले बुढानिलकण्ठ पुगेर ओलीका कदमविरूद्ध संयुक्त सडक संघर्षमा जान र प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्नेलगायत प्रस्ताव लगे पनि देउवाले अस्वीकार गरेका थिए ।
देउवाले दुई भागमा विभाजितजस्तो देखिए पनि अझै पनि कानुनी रूपमा सग्लो नै रहेकोले कुनै पनि खेमासँग आफूहरू नजिक नहुने संकेत गरेका छन् ।
संसद आह्वानका लागि पार्टीका सांसद संख्या नै कम भएकोले पहिले संसद आह्वान गर्न आफूहरूले माग गर्न नसकेको देउवाको भनाइ थियो ।
‘संसद बोलाउन माग गर्न दुई जना सांसद पुगेन,’ उनले भने । कांग्रेसमा ६३ जना सांसद छन् ।
जनता मालिक भएको र आफूहरूलाई २०७४ को चुनावमा कम भोट दिए पनि स्वीकार गरिएको देउवाको भनाइ थियो ।
‘जनता देशका मालिक हुन्। हामीलाई त्यसबेला हराए ठिकै छ भनियो,’ उनले भने, ‘जनतालाई हेप्ने काम छैन। उहाँहरू मालिक हो।’
उनले गाउँगाउँमा गएर संगठन विस्तारका काम गर्न पनि नेताहरूलाई आग्रह गरेका छन् ।
‘भाषण गरेर काम छैन । गाउँ गाउँ पुगेर जनताका दुस्खमा साथ दिनुपर्छ,’ उनले भने, ‘अनि पो भोट पनि बढ्छ ।’
उनले प्रहरी तथा कर्मचारीले गाउँगाउँका कांग्रेस कार्यकर्तालाई दुस्ख दिने गरेको आरोप लगाएका छन् । जनताका करबाट पारिश्रमिक लिनेहरूले जनतालाई नै अनावश्यक दुस्ख दिने र बेइमानी काम गर्न नपाउने देउवाले बताए ।
पार्टीभित्र गुटको झगडा हुने गरेको बताएका देउवाले यो समस्याबाट कांग्रेस पहिलेदेखि नै ग्रस्त रहेको बताएका थिए ।
‘गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईले पार्टी छोड्ने अवस्था पनि आयो। सभापति भएकोले म यति भन्छु( कसैले पार्टी छोड्ने अवस्था आउन दिने छैन,’ उनले भने ।
उनले पार्टी एक बनाउन सके मात्रै भविष्यमा पार्टी बलियो बनाउन र देश विकासका काम गर्न सकिने देउवाको भनाइ थियो ।
‘पार्टीलाई ऐतिहासिक जिम्मेवारी आइपरेको छ। पार्टीलाई एक बनाउन सके मात्रै राम्रोसँग काम गर्न सकिन्छ,’ उनले भने ।
४ माघ २०७७, आइतवार १५:०२ बजे प्रकाशित