काठमाडौँ उपत्यकामा भोली कहाँ कहाँ दाउरा पाइदै छ ?
काठमाडौँ, कात्तिक २८ । ग्यासको अभावमा चुलोे बाल्न नपाएका काठमाडौँ उपत्यकावासीका लागि आइतबार (भोली)देखि दाउरा बिक्री हुदै छ ।
टिम्बर कर्पोरेसनले आइतबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म काठमाडौँको पिङ्गलास्थान र ललितपुरको बालकुमारीस्थित डिपोबाट दाउरा बिक्री गर्दैछ । अब उपभोक्ताले दाउरा प्रतिकिलो रु १५ मा पाउनेछन् ।
बिक्रीका लागि बाराबाट हाल एक लाख १० हजार किलो दाउरा ल्याइएको वन तथा भूसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
“चुलो बाल्न नपाएका परिवारका लागि प्राथमिकता दिई दाउरा बिक्री गरिनेछ, उपत्यकामा ग्यास सहज नभएसम्म दाउरा बिक्रीलाई निरन्तरता दिइनेछ, हाललाई दाउरा प्रतिकिलो रु १५ निर्धारण गरिएको छ”–उनले भने ।
उपत्यकामा ग्यास सहज हुन नसकेपछि वनमन्त्री अग्निप्रसाद सापकोटाले मङ्गलबार बाराका वनबाट दाउरा ल्याई बिक्री गर्न निर्देशन दिएका थिए । पहिलो चरणमा बाराबाट २०० ट्रक दाउरा ल्याइएको छ ।
ती दाउरा बिक्री गरिसकेपछि नवलपरासीबाट थप दाउरा ल्याउने सरकारको तयारी छ ।
२८ कात्तिक २०७२, शनिवार ११:२६ बजे प्रकाशित