पेरिस घटनाबारे प्रधानमन्त्रीले भने “खुल्ला र सभ्य समाजविरुद्धको आक्रमण”

काठमाडौँ, कात्तिक २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति विभिन्न स्थानमा भएका आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।
फ्रान्सका राष्ट्रपति फ्रान्सिस होल्यान्डलाई शनिबार शोक सन्देश पठाउँदै उनले शोकका यस घडीमा फ्रान्स सरकार र फ्रान्सेली जनताका पक्षमा नेपाल सरकार र नेपाली जनता रहेको बताएका छन् ।
आतंकवादी हमला फ्रान्सेली जनतामाथिको आक्रमण मात्र नभई खुला समाज, लोकतन्त्र र सभ्य समाजविरुद्धको आक्रमण भएको सन्देशमा उल्लेख गरिएको छ ।
आतङ्कवादको जुनसुकै स्वरुप र प्रकटीकरणका विरुद्ध नेपाल सरकार दृढतापूर्वक लागिरहेको बताउँदै प्रधानमन्त्री ओलीले त्यस प्रकारको आततायी घटनामा संलग्न जोकोहीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने स्पष्ट पारेका छन् ।
प्रधानमन्त्रीले नेपाल सरकार, नेपाली जनता र स्वयम् आफ्नातर्फबाट राष्ट्रपति होल्यान्डप्रति समवेदना प्रकट गर्दै घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदनाका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
२८ कात्तिक २०७२, शनिवार ११:०६ बजे प्रकाशित