बैतडी र काभ्रेमा बस दुर्घटना ! ३५ को मृत्यु
काठमाडौँ, ३१ साउन । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनाग्रस्त भएको छ । दुर्घट्नामा परी कम्तिमा पनि ३२ जनाको मृत्यु भएको जनाइएको छ। ८० भन्दा बढी यात्रु लिएर कोशी पारी जाँदै गरेको बा २ ख १०६ नम्बरको बस दुर्घटना भएको र घटनाबारे थप विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाका अनुसार बस सडकबाट ३ सय मिटर तल खसेको थियो । प्रहरी प्रमुख बाँस्तोलाका अनुसार बस सडकबाट खसेको भन्ने जानकारी प्रहरीलाई आएपछि पाँचवटा एम्बुलेन्स तथा प्रहरीको टोली घटनास्थल पुगेको छ । र अहिले शब संकलन तथा घाइतेको उद्धार गर्ने काम भइरहेको छ ।
यसैबीच बैतडीमा बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । धनगढीबाट बझाङका लागि छुटेको ना ५ ख २८३२ नम्बरको सुदूरपश्चिम यातायातको बस बैतडीको सिद्धेश्वर ज्याफुमा दुर्घटना हुँदा एक गर्भवती र २ पुरुषको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो ।
दुर्घटनामा गम्भिर घाइते २ जनासहित १९ जनालाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डढेलधुरा लगिएको छ । बसमा ४५ जना यात्रु थिए ।
३१ साउन २०७३, सोमवार ०९:४१ बजे प्रकाशित