नेपाल Vs नेदरल्याण्ड्स : कप्तान पारस आउट !
काठमाडौँ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो खेल भइरहेको छ । नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले अहिले व्याटिङ गरिरहेको छ ।
ताजा अवस्थामा नेपालले ४७ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा १ सय ९६ रन जोडेको छ । नेपालका लागी कप्तान पारस खड्काले अर्धशतक पुरा गरेका छन । ९४ बलको सामना गरेका पारसले १ छक्का र ७ चौकाको मद्धतमा ८४ बनाएर भर्खरै आउट भएका छन ।
यस्तै अर्धशतक नजिक पुगेका सागर पुन पनि आउट भएका छन । ७८ बल खेलेका उनले २ चौकाको मद्धतमा ४५ रन जोडेका थिए । क्रिजमा अहिले विनोद भण्डारी र राजु रिजाल छन । विनोदले नेपालको तेश्रो छक्का हानेका छन । यसअघि कप्तान पारस र उपकप्तान ज्ञानेन्द्रले १/१ छक्का हानिसकेका छन ।
आजको खेलमा पनि नेपालका अनिल मण्डल, शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल सस्तैमा आउट भएका छन । अनिल व्यक्तिगत ४, शरद ६ र ज्ञानेन्द्र ३९ रनमा आउट भएका हुन ।
अस्ति शनिबार भएको पहिलो खेलमा ७ विकेटले पराजित भएको नेपाल आज जित्नैपर्ने दबाबसहित टिकेर व्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सको एम्स टेभिल मैदानमा जारी खेलमा नेपालका बलरहरु आज हावी हुने देखिएका छन । ८ राष्ट्र सम्मिलित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल अहिले ४ अंकसहित छैटौं स्थानमा छ । ७ खेलबाट १२ अंक जोडेको नेदरल्याण्ड्स लिग तालिकाको शिर्ष स्थानमा छ ।
नेपालले अहिलेसम्म नामिवियालाई मात्रै हराउन सकेको छ भने स्कटल्याण्ड र पपुवा न्युगिनीसँग पराजित भएको थियो । नेदरल्याण्ड्ससंग आजको खेल पछि नेपालले केन्या, हङकङ र युएईसँग खेल्नेछ ।
३१ साउन २०७३, सोमवार १०:३३ बजे प्रकाशित