सेनाले ८० करोड उठायो, सैनिक कल्याणकारी कोषमा ४६ अर्ब

१६ साउन, काठमाडौं । नेपाली सेनाले विभिन्न वित्तिय संस्थामा जोखिममा रहेको ८० करोड रुपैयाँ उठाएको छ । अब ५ करोड २ लाख ६६ हजार रुपैयाँ मात्र उठाउन बाँकी छ ।
अघिल्लो वर्षसम्म सेनाको करिब २३ करोड रुपैयाँ नोक्सान हुने जोखिम थियो । तर, प्रभावकारी व्यवस्थापन एवं निक्षेप नीति अवलम्बन गरिएकाले हाल उल्लेख्य रुपमा घटेको सैनिक कल्याणकारी योजना निर्देशनालयका सहायक रथी सुरज केसीले बताए ।
शुक्रबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जोखिममा रहेको थप रकमलाई पनि क्रमशः घटाउँदै लैजाने योजना छ ।’
उनका अनुसार युनाइटेड विकास बैंकमा १ करोड ५६ लाख, नेपाल शेयर मार्केट एण्ड फाइनान्स लिमिटेडमा २ करोड ३ लाख, सम्झना फाइनान्स लिमिटेडमा एक करोड र हिमालय फाइनान्स लिमिटेडमा एक करोड रुपैयाँ छ ।
सैनिक कोषमा ४५ अर्ब ८६ करोड
केसीका अनुसार हाल सैनिक कल्याणकारी कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको छ । यो वर्ष १८।९० प्रतिशत ९७ अर्ब २९ करोड १९ लाख रुपैयाँ० ले कोषको रकम वृद्धि भएको छ ।
कोभिड–१९ को महामारीका कारण नकारात्मक असर परे पनि कोषको समग्र प्रगति सन्तोषजनक रहेको केसीको भनाइ छ । उनका अनुसार विभिन्न निकायमा २०७७ असारसम्म गरिएको लगानी ५ अर्ब ७४ करोड २४ लाखलाई समेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ ।
कोषको बेरुजु २० करोड १४ लाख १७ हजार रुपैयाँ रहेकामा असार मसान्तसम्ममा १२ करोड ७० लाख २३ हजार रुपैयाँ फर्च्छ्यौट भएको पनि केसीले जनाए ।
१७ साउन २०७७, शनिवार ०६:११ बजे प्रकाशित