डा. खतिवडा अर्थतन्त्र थप सबल बनाउन मै संग रहनुहुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा अर्थतन्त्रलाई सबल गराउने भूमिकामै रहने बताएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार साँझ डा. खतिवडालाई पनि साथैमा राखेर ठूला उद्योगी(व्यवसायीका तीन संगठनका प्रतिनिधिहरुका कुरा सुने । कुरामात्रै सुनेनन्, उनले भने, ‘उहाँले अर्थतन्त्रका लागि निकै महत्वपूर्ण योगदान दिनुभएको छ, यस्तो जटिल परिस्थितिमा पनि अर्थतन्त्रलाई नकारात्मक हुन दिनुभएन । अर्थमन्त्रीका रुपमा रहन नसके पनि उहाँ अब पनि देशको अर्थनीति र अर्थतन्त्रलाई सबल बनाउने भूमिकामै रहनुहुनेछ ।’
प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति अनि बालुवाटारमा खतिवडाको उपस्थितिले अब उनी प्रधानमन्त्रीको सल्लाहकारका रुपमा रहेर भूमिका खेल्ने अनुमान आफूले गरेको एक उद्योगीले सुनाए ।
प्रधानमन्त्री ओलीले खतिवडा अर्थमन्त्रीका रुपमा नहरे पनि कुनै न कुनै रुपमा अर्थतन्त्रलाई सघाउने भूमिकामा रहने बताए । उनले खतिवडालाई प्रधानमन्त्रीकै निकट रहने गरी कुनै विशिष्ट पोर्टफोलियोमा नियुक्ति दिने स्पष्ट संकेत गरेको बैठकमा सहभागी एक उद्योगीले बताए ।
आइतबार प्रधानमन्त्रीले डाकेको उद्योगीहरुसँगको छलफलमा भर्खरै अर्थ मन्त्रालय छाडेका डा। खतिवडासहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल र राष्ट्र बैंकका गर्भर महाप्रसाद अधिकारीसमेत उपस्थित थिए ।
५ः३० बजे बस्ने भनिएको छलफल आधाघण्टा ढिलो शुरु भएको थियो । बैठकमा केही मन्त्रीहरुसमेत सहभागी थिए ।
छलफलमा उद्योगीहरुले आफ्ना गुनासा र मागहरु राखेपछि प्रधानमन्त्रीले व्यवसायीलाई सरकारले लगानीमैत्री नीति लिने र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक जटिलतालाई सरकार र निजी क्षेत्र मिलेरै समाधान गर्दै अघि बढ्ने वचन दिएको स्रोतले बतायो ।
कोभिडले निजी क्षेत्रमा परेको असर र अब सरकारले गर्नुपर्ने कामका विषयमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीहरुसँग सुझाव लिएको बैठकमा सहभागी एक उद्योगीले बताए ।
निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु छलफलमा सहभागी थिए ।
महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका उपाध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष सतिश मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल लगायतका उद्योगी व्यवसायी सहभागी बैठकको शुरुमा नै प्रधानमन्त्री ओलीले निवर्तमान अर्थमन्त्री खतिवडाको विषयमा बोलेका थिए ।
२१ भदौ २०७७, आइतवार २२:२४ बजे प्रकाशित