माधव नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् ।
यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकालेको हो । पार्टीलाई जीवन्त र एकताबद्ध राख्न गरिएको अन्तिम प्रयासमा ओली पक्ष उदासीन भएपछि राजीनामा दिनुको विकल्प नभेटिएको नेता माधवकुमार नेपालले बताए ।
नेता नेपालका अनुसार शनिबारको बैठकमा नेताहरूले ओली कुनै पनि हालतमा नसच्चिने र उनको जालोमा पर्न नहुने बताएका थिए र त्यसमा सबै सहमत छन् । ‘वार्ता र सहमतिका प्रयास भएका हुन् तर सहमतिका लागि ओलीजी तयार देखिनुभएन,’ नेपालले भने, ‘त्यसैले हामीले राजीनामा गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं ।’
नेता नेपालले फागुन २८ गते ओली समूहले एकलौटी रूपमा गरेको निर्णयको खारेजी र २०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताए । उनले आफूहरूले सांसद पदबाट राजीनामा दिनुलाई एमालेमै अन्तरसंघर्ष गर्ने भनेर बुझ्न आग्रह गरे ।
सांसद विरोध खतिवडाले नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ अनुसार राजीनामा बुझाउने तयारी गरेको बताए ।
‘हाम्रोतर्फबाट सम्पूर्ण प्रतिनिधिसभा सदस्यले राजीनामा दिने हो,’ उनले भने ।
२६ वैशाख २०७८, आइतवार १४:१२ बजे प्रकाशित