देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो ।

पूर्वसचिव रेग्मी कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट नियुक्ति सिफारिसमा परेका हुन् ।

देउवाको कोटाबाट समेत लोकसेवा आयोगमा केही सदस्य सिफारिस !

देउवा बैठकमा सहभागी नभए पनि उनको कोटाबाट झापाका रेग्मीले नियुक्ति पाएका हुन् ।

परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ ।

सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

को हुन् रेग्मी ?

कांग्रेस निकट मानिने रेग्मी परिवार खोटाङबाट बसाइँ सरेर झापा आएको थियो । हाल काठमाडौंको अनामनगरमा बसोबास गर्दै आए पनि उनको जन्म भने खोटाङको दुबेकोटमा भएको थियो ।

यद्यपि रेग्मीसँग लोक सेवा आयोगको पूर्वसचिव बनेको अनुभव पनि छ । रेग्मीले शाखा अधिकृतको रुपमा पनि आयोगमा काम गरेका थिए । लोक सेवा आयोगमा आठ वर्ष काम गरेको अनुभव संगालेको भन्दै उनले सोही आयोगको अध्यक्ष बन्न इच्छा देखाउँदै लबिङ गरेका थिए ।

रेग्मी सरकारी सेवामा प्रवेश गरेको भने २०३७ सालमा हो । २०३७ साल वैशाख ९ गते अस्थायी डिठ्ठा भएर सरकारी सेवा सुरु गरेका उनी सोही वर्ष स्थायी खरदार बनेका थिए । सरकारी सेवाका सबैजसो पदमा क्रमशः सेवा गरेको अनुभव संगालेका उनी २०६८ साल साउन ११ गते सचिव बनेका थिए । सचिवको रुपमा पूरै पाँच वर्ष कार्यकाल पूरा गरेर उनी ५४ वर्षको उमेरमा लोक सेवा आयोगबाटै रिटायर्ड भएका थिए ।

रेग्मी नेकपाको एकता भंगको फैसला गर्ने सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन् । त्यसैले कतिपयले प्रधानमन्त्री ओलीले उनलाई संवैधानिक आयोगको अध्यक्षमा नियुक्ति दिएर नेकपा विभाजनको फैसलाको गुन तिरेको टिप्पणीसमेत गर्दछन् ।

२६ वैशाख २०७८, आइतवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु