इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) ले इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि निवेदन आह्वान गरेको छ।

नेपालमा कार्यरत पत्रकारलाई प्रदान गर्ने यी अवार्ड १/१ लाख राशीका हुन् ।

यसैगरी एक लाख रुपैयाँ राशीकै उत्कृष्ट साहित्यिक पुरस्कारका लागि पनि आह्वान गरेको छ।

पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिए ।

पत्रकारहरुबाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी फेब्रअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्नेछ ।

इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने अध्यक्ष लुइटेलले बताए ।

अध्यक्ष लुइटेलका अनुसार पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफूलाई उत्कृष्ट लागेका तीनवटा समाचारलाई प्रतिस्पर्धाका लागि पठाउनु पर्ने छ।

गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड पत्रकार अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र बाजुराका प्रकाश सिंहले प्राप्त गरेका थिए ।

उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा वितरण गरिने छ। उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सर्जकबाट आवेदन नलिई पाठकहरुलाई आफूलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले आह्वान गरेको छ।

सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिए।

६ माघ २०७७, मंगलवार ११:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु