इन्टर युरोपा लिगको फाइनलमा

लाउटारो मार्टिनेज र रोमेलु लुकाकुले दुई(दुई गोल गरेपछि इन्टर मिलानले युरोपा लिगको दोस्रो सेमिफाइनलमा शाख्तर डोनेस्कलाई ५(० को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।

जर्मनीको डुसेलडोर्फमा भएको खेलमा इन्टरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल गरेको हो ।

इटालियन क्लब इन्टरले अब उपाधिका लागि सेभियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियाले पहिलो सेमिफाइनलमा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको थियो ।

डुसेलडोर्फस्थित डुसेलडोर्फ एरेनामा भएको खेलमा १७औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

६४औं डानिलो डिएम्ब्रोसियोले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता ३(० बनाए ।

त्यसपछि लुकाकुले ७८औं र ८४औं मिनेटमा लगातार दुई गोल गरेपछि इन्टरले फराकिलो जित हात पारेको हो ।

शाख्तरविरुद्ध २ गोल गरेपछि लुकाकुले यस सिजन इन्टरका लागि गोल संख्या ३३ पुर्‍याएका हुन् । उनले लगातार १० युरोपा लिग खेलमा गोल गरेका हुन् ।

युइएफए कप वा युरोपा लिगको सेमिफाइनलमा इन्टरको जित अहेसम्म कुनै पनि टिमले सिंगल लेगमा प्राप्त गरेको फराकिलो जित हो ।

इन्टरले अब उपाधिका लागि अगष्ट २१ मा सेभियासँग फाइनल खेल्नेछ ।

२ भदौ २०७७, मंगलवार ०९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु