२०१५ को बालोन डी’ओर मेस्सीलाई : रोनाल्डो
कात्तिक २७ – गएको वर्षको बालोन डी’ओर विजेता स्पेनिस क्लब रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डोले यसपटक लियोनल मेस्सीले जित्ने बताएका छन् ।
उनले पहिले नै गरेको यो घोषणाले मेस्सीले बालोल डीओर जित्ने पनि पक्का भएको छ। रोनाल्डोले सन् २०१४–१५ को सिजन आफ्नो खेल जीवनकै उत्कृष्ट सिजन भएपनि यस पटकको बालोन डी’ओर बार्सिलोनाका स्टाइकर मेस्सीले जित्ने बताएका हुन् ।
तीन पटकसम्म बालोन डी’ओर जितेका रोनाल्डो मेस्सीसँगै यसवर्ष पनि मनोनयनमा परेका छन् । मेस्सीले गएको सिजन बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकाले उनले नै यो पटक बालोन डी’ओर जित्ने रोनाल्डोको भनाई छ ।
मेस्सीले यसअघि चार पटकसम्म बालोन डी’ओर जितिसेकेका छन् । उनले भने ‘यो पटकको उपाधि मेस्सीले नै जित्ने छन् । किनकी यसमा भोटले बढी महत्व राख्छ ।’
आफूले तीन पटकसम्म बालोन डी’ओर जित्छु भन्ने नै नलागेको रोनाल्डोको भनाई छ । गएको सात वर्षदेखि रोनाल्डो र मेस्सीले मध्ये एकले मात्रै बालोन उत्कृष्ट फुटबलरको उपाधि जित्दै आएका छन् । तर रोनाल्डोले मेस्सीलाई आफ्नो प्रतिद्धन्द्धीको रुपमा लिनबाट भने अस्वीकार गरे ।
उनले भने ‘हामी प्रतिद्धन्द्धी होइनौं । हाम्रो साधारण सम्बन्ध छ । हामी फरक फरक टिमबाट खेल्छौं । हामीले जे जितेका छौं आआफ्नै राम्रो प्रदर्शनका कारण जितेका हौं ।’
अन्तर्राष्ट्रिय फुटबल एशोसियसन फिफाले फिफ बालोन डी’ओर २०१५ का लागि चार पटकका विजेता स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी तथा अहिलेका विजेता रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोसहित २३ मनोनयन गरेको छ ।
बालोन डी’ओर २०१५ को विजेता मनोनयनमा परेका खेलाडीहरुको टिमका कप्तान तथा मुख्य प्रशिक्षकको मत तथा फ्रेन्च प्रकाशक फ्रान्स फुटबलले छनौट गरेका अन्तर्राष्ट्रिय खेल पत्रकारको मतबाट छनौट गरिने छ ।
विजेताको घोषणा सन् २०१६ को जनवरी ११ मा स्वीजरल्याण्डको ज्यरिचमा हुने समारोहमा गरिने छ ।
२७ कात्तिक २०७२, शुक्रवार ०८:४७ बजे प्रकाशित