दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बंगलादेशमा

बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गरेको छ । ३४ सदस्यीय नेपाली टोली हिमालयन एयरलाइन्समार्फत ढाका प्रस्थान गरेको हो । नेपालले १३ र १७ नोभेम्बरमा ढाकाको बंगबन्धु रंगशालामा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

त्यसअघि नेपाली टोली करिब एक साता होटेलमा क्वारेन्टिनमा बस्नेछ । कोरोना परिक्षणपछि नेपाली टोलीले प्रशिक्षणको मौका पाउनेछ । सिनियर खेलाडी घाइते र केही खेलाडीलाई कोरोना पुष्टि भएपछि यसपटक ८ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले १२ कात्तिकबाट प्रशिक्षण थालेको थियो । ३५ जनालाई बन्द प्रशिक्षणमा ढाकिँदा दुई चरणमा सात जनामा कोरोना पोजेटिभ देखिएको थियो । बंगलादेश जाने टोलीमा २५ खेलाडी र ९ जना अफिसियल तथा पदाधिकारी छन् ।

टोलीका मुख्य सदस्य रोहित चन्द चोटका कारण टोलीमा समावेश छैनन् । यस्तै, अन्य ७ खेलाडी कोरोनाका कारण टोलीमा रहने छैनन् । नेपाली टोलीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलगायतले बिदाइ गरेका थिए ।

मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा टोलीको प्रशिक्षणको जिम्मेवारी बालगोपाल महर्जनले सम्हालेका छन् । प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपिङ प्रशिक्षकमा विकास मल्ल रहेका छन् । टिम व्यवस्थापकमा कृष्णभक्त मानन्धर छन् । फिजियोमा आविस्कार पुडासैनी र सहायक फिजियोमा रोशन पुडासैनी छन् । टिम डक्टरमा प्रविन श्रेष्ठ र एन्फा मिडिया अफिसरमा विवेक सुवेदी र अर्का पत्रकार मुक्तिबाबु रेग्मी पनि छन् ।

२१ कात्तिक २०७७, शुक्रवार १४:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु