पहिलो ओडिआईमा अस्ट्रेलियासँग इङ्ल्यान्ड १९ रनले पराजित
म्यान्चेस्टर ;तीन खेलको ओडिआई सिरिज अन्तरगत पहिलो खेलमा इङ्ल्यान्ड पाहुना टोली अस्ट्रेलियासँग १९ रनले पराजित भएको छ। ओल्ड ट्राफोर्डमा शुक्रबार भएको खेलमा इङ्ल्यान्डले २९५ रनको लक्ष्य भेट्टाउन नसक्दा पराजित भएको हो।
इङ्ल्यान्डले टस जितेर अस्ट्रेलियालाई ब्याटिङको निम्तो दिएको थियो। पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९४ रन जोडेको थियो। त्यसपछि २९५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७५ रन मात्र बनाउन सक्यो।
इङ्ल्यान्डका लागि साम बिलिङ्सले शतक हिर्काए पनि जितका लागि त्यो पर्याप्त भएन। उनले २ छक्का र १४ चौकाको मद्दतमा ११८ रन जोडे। त्यस्तै जोनी बेइस्टोले ८४ रन बनाए। तर अन्य ब्याट्स्मेन भने चल्न सकेनन्। कप्तान इयोन मोर्गान २३ रनमा पेभिलियन फर्किए भने क्रिस वोक्सले ८ रन बनाए।
इङ्ल्यान्डलाई रोक्न अस्ट्रेलियाका आडम जाम्पाले धारिलो बलिङ गरे। १० ओभर बलिङ गरेका उनले ५५ रन खर्चिएर ४ विकेट लिए। त्यस्तै जोश हाजलेवुडले ३ विकेट लिए। सबभन्दा किफायती बलिङ गरेका उनले १० ओभरमा ३ मेडन बल फाले। यसैगरी प्याट क्यूमिन्स र मिचेल मार्शको नाममा १÷१ विकेट रह्यो।
यसअघि ब्याटिङ गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेल र मिचेल मार्शले अर्धशतक बनाए। आक्रामक ब्याटिङ गरेका म्याक्सवेलले ४ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ७७ रन जोडे। त्यस्तै मिचेलले ७३ रन बनाए। मार्कस स्टोनिसले ४३ रन जोड्दा मिचेल स्टार्कले १९ रनको योगदान गरे।
इङ्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क वुडले समान ३÷३ विकेट लिए। त्यस्तै अदिल रसिदले २ विकेट हात पारे भने क्रिस वोक्सको नाममा १ विकेट रह्यो।
जितसँगै सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता लिएको छ। दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ।
२७ भदौ २०७७, शनिवार १३:०२ बजे प्रकाशित












