पोर्चुगलको प्रभावशाली जित

कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहे पनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४–१ को जित दर्ता गरेको छ ।

झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साबिक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो ।

खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१औं मिनेट कुर्नुपरेको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै तीनपटक क्रसबारमा प्रहार गरेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो । वल्भ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका डिओगो जोटाले ५८औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए । ७०औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे ।

म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको पासमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । खेलको ९०औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे ।

कप्तान क्रिस्टियानो रोनाल्डोले बुढीऔंलामा सामान्य चोट लागेका कारण यो खेल गुमाएका थिए । यता क्रोएसियाका लागि लुका मोड्रिच र इभान राकिटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो । यस्तै, युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्वविजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद सुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्विडेनलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाए पनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको सुरुवातमा घरेलु टोली स्विडेनले दबाबमा राखे पनि फ्रान्सको रक्षापंक्ति तोड्न सकेन । १४औं मिनेटमा इमिली फोर्सवर्गको फितलो क्रस एनगोलो कान्टेलाई डिफ्लेक्ट हँदै बाहिरिएको थियो ।

लगत्तै प्राप्त कर्नरमा पाएरे विंसटनले प्रयास गरे पनि पोस्टबाट थोरै बाहिँरिदा स्विडेन अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले मार्कुस वर्गको क्लोज रेन्जको प्रहारलाई बचाए ।

रिवाउन्डमा फोर्सवर्गको प्रहारले पोस्टको दिशा लिन सकेन । ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो । फ्रान्सले खेलमा पाएो पहिलो अवसरलाई नै गोलमा परिणत गर्न सफल भएको हो ।

एमबाप्पले पेनाल्टी बक्समा बललाई उत्कृष्ट नियन्त्रणमा लिँदै दुई डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए ।

६३औं मिनेटमा एमबाप्पेको क्रसमा एन्टोइन ग्रिजमनले अवसर पाए पनि उनले भेट्न नसक्दा स्विडिस डिफेन्डरले क्लियर गरिदिए । ६६औं मिनेटमा सेवास्टियन लार्सनको प्रहारमा लोरिस नै बाधक बन्दा फ्रान्सले अग्रता जोगाइराख्न सफल भयो ।

७६औं मिनेटमा ग्रिजमनले अवसर पाए पनि उनको प्रहार अकासियो । ८९औं मिनेटमा फोर्सवर्गले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो ।

उनको उत्कृष्ट प्रहारलाई लोरिसले उत्तिकै राम्रो बचाउ गरेका थिए । त्यसपछि स्विडनले लगातार दुई आक्रमण बुने पनि गोल गर्न नसक्दा पराजित हुन बाध्य बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्कुस वर्गले प्रहारलाई राफयल भरानले क्लियर गरिदिए । त्यसपछि जोन गुइडेट्टीको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।

इन्ज्युरी समयमा फ्रान्सले पेनाल्टी पाएपनि ग्रिजमनले सदुपयोग गर्न सकेन । भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा ग्रिजमनको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

२२ भदौ २०७७, सोमवार ०८:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु