बझाङका वासीलाई कोरोनाभन्दा बाढी र पहिरोको डर
			यस वर्ष मनसुन सुरु भएयता जिल्लाका विभिन्न बस्तीमा बाढी र पहिरो खस्न थालेपछि यहाँका स्थानीयवासी निकै त्रसित भएका छन्। बाढी र पहिरोको खतरा बढ्न थालेपछि स्थानीयहरु कोरोनाभन्दा बाढी र पहिरोको डरमा छन्। दुई साताअघि जिल्लाको केदारस्युँ गाउँपालिकास्थित मल्लेसी गाउँमा पहिरो खस्दा ५ वटा घर पुरिए र ७ जनाले ज्यान गुमाउनु पर्यो। सेती नदीमा आएको बाढीले जयपृथ्वी राजमार्गको जालेबगर नजिकै सडक बगाउँदा एक सातायता यातायात सेवा अवरुद्ध भएको छ।
कालंगा हाइड्रोपावरको सुरुङ खन्दा जमिन हल्लिएको बुंगल नगरपालिका २ दहबगर,बमरलगायत ग्रामीण बस्तीका बासिन्दा पनि पहिरो खस्ने त्रासमा छन्। बाढी र पहिरोले सेती नदीमा निर्माण गरिएको काठेपुल बगाउँदा जिल्लाको तलकोट गाउँपालिका पूर्ण रुपमा सडक सञ्जालबाट बञ्चित भएको छ। पहिरो खस्दा रिठापाटा(जयपृथ्वी नगर दार्चुला सडकखण्ड पनि अवरुद्ध भएको छ।
सेती नदी किनार आसपासका बासिन्दा बाढी आउने त्रासले घर छोडेर अन्यन्त्र बस्दै आएका छन्।
जिल्लाका विभिन्न ग्रामीण भेगसम्म जोड्न निर्माण गरिएका शाखा सडकहरू पनि यतिखेर बाढी र पहिरोले अवरुद्ध भएका छन्। विश्वमा फैलिएको कोरोनाभन्दा पनि यतिखेर यहाँका स्थानीयहरु बाढी र पहिरोको त्रासमा छन्।
जयपृथ्वी नगरपालिका ७ का हंस बोहरा भन्छन्, कोरोना संक्रमण भएपनि निको हुनसक्छ, भएन भने पनि त विस्तारै ज्यान लिन्छ, तर बाढी र पहिरोले तुरुन्त ज्यान लिन सक्छ। यहाँका नदी तथा खोला किनारमा रहेका बस्तीहरुमा बाढी र पहिरोको त्रास देखिएको छ।
वर्षा हुँदा उनीहरुले राती जाग्राम बस्नु पर्ने बाध्यता छ। सरकारले बाढी र पहिरोको जोखिममा रहेका बस्तीहरु स्थान्तान्तरण गर्ने योजना ल्याए पनि जिल्लाका जोखिमयुक्त बस्ती सार्न सकिएको छैन। यो समय बाढी र पहिरो लगायतका प्राकृतिक प्रकोपहरुको जोखिम हुने भएकाले सबैलाई सर्तक रहन जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ।
३२ साउन २०७७, आइतवार १४:०६ बजे प्रकाशित
						 




