बर्डफ्लु : उच्च सर्तकता कायम नगरे खतरा

सुनौली नाका नजिकको भारतीय क्षेत्रमा बर्डफ्लु देखिएपछि उच्च सतर्कतासहित निगरानी बढाउनका लागि आईतबार परासीमा बसेको सुरक्षाकर्मीसहित सरोकारवालाहरूको बैठकका सहभागी । तस्बिरः हरि शर्मा

परासी : सुनौली नाका नजिकको भारतीय क्षेत्रमा बर्ड फ्लु देखिएपछि नेपालमा उच्च सतर्कता अपनाउन थालिएको छ । सुनौलीस्थित बेलहिया नाकासँग सीमा जोडिएको भारतको महाराजगन्ज जिल्लामा बर्ड फ्लु देखिएको जानकारी आएपछि नवलपरासीसहित रूपन्देहीमा उच्च सतर्कता बढाइएको हो।

सुनौली नाकाबाट ३ किमिको दूरीमा रहेको भारतको निचलौल वरपर क्षेत्रमा बर्ड फ्लु देखिएको भारतीय सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् । त्यसलगत्तै भारतीय सीमासँग जोडिएका नेपालका दुई जिल्लामा जिल्ला पशुसेवा कार्यालयसहित सुरक्षाकर्मीहरूको बैठक बसेर उच्च सतर्कतासहित निगरानी बढाइएको हो ।

बर्ड फ्लुबारे जानकारी दिन आइतबार परासीमा बसेको पशु चिकित्सक, सुरक्षाकर्मी, पक्षीपालक संघ र सरोकारवालाहरूको संयुक्त बैठकले नवलपरासीका नाकाहरूमा निगरानी बढाउँदै अवैध रूपमा आउने पक्षी र पक्षीजन्य पदार्थमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

शनिबार भारत महाराजगन्जका डीएम (प्रमुख जिल्ला अधिकारी) ले रूपन्देहीका सीडीओलाई निचलौल वरपर क्षेत्रमा बर्डफ्लु देखिएको र सतर्कता अपनाउन आग्रह गरेपछि नवलपरासीमा सरोकारवालाहरूको बैठक बसेर निगरानी र रोकथामसहित सतर्कता अपनाउने निर्णय गरिएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीका प्रमुख शिवप्रकाश अर्यालले भने ।

बर्ड फ्लु संक्रमण फैलिने भन्दै रूपन्देहीमा कडाइ हुन थालेपछि कारोबारीहरूले नवलपरासी नाका प्रयोग गर्न सक्ने सम्भावना बढेकाले सावधानी अपनाउन आवश्यक रहेको र त्यसबारे व्यापक जनचेतना जगाउन स्थानीय तहहरूलाई समेत अनुरोध गर्ने निर्णय भएको अर्यालले बताए । माघदेखि वैशाखसम्म बर्ड फ्लु फैलिन सक्ने समय भएकाले जिल्लामा रहेका ह्याचरी र पक्षीपालक संघलाई जैविक सुरक्षा प्रणाली अपनाउन पशु चिकित्सकहरूले सुझाएका छन् ।

जिल्लाको महेशपुर, भुजहवा, गुठिप्रसौनी, बिस्नुपुरा, त्रिवेणी, झोलनीपुर, गेर्मी, हरपुरलगायत नाकाहरू भारतसँग सीमा जोडिएका नाका हुन् । त्यस क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीलाई उच्च सतर्कतासहित निगरानी बढाउन निर्देशन दिइएको प्रजिअ उदयबहादुर राना मगरले जानकारी दिए ।

१९ चैत २०७४, सोमवार ०३:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु