महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार
काठमाडौँ । नेपाली काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएको छ । तर अझै गम्भीर रहेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । वान्ता गर्ने क्रममा उहाँको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि अझै गम्भीर नै रहेको जानकारी दिए । अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जोशीले महामन्त्री कोइरालाको स्वास्थ्यमा केही सुधार देखिएको र बोलाउदा महसुस गरेको बताए ।
स्वास्थ्यमा सुधार ल्याउन सजिलो होस् भन्नाका लागि महामन्त्री कोइरालालाई कृतिम श्वास दिइएको छ ।
२२ असार २०७३, बुधवार १५:३४ बजे प्रकाशित