प्रचण्डसँग चुनावी तालमेलको प्रयासमा केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग चुनावी तालमेलको प्रयास गरेका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भने तालमेलबारे निष्कर्षमा पुगिनसकेको बताएका छन् ।

बिहीबार घोराहीमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘जबसम्म दलहरू आफै बोल्दैनन् । तबसम्म हतार गरेर बोल्न उचित हुँदैन’, पोखरेलले भने, ‘चुनावी तालमेलबारे हामी अझै निष्कर्षमा पुगेका छैनौँ ।’

झापा–५, दाङ–२ लगायतका क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)सँग एमालेको चुनावी तालमेल हुने पछिल्लो समय चर्चा छ ।

एमाले र नेकपा दुवै नेपालको ठूला कम्युनिस्ट पार्टी हुन् ।

नेकपा एमालेले १० वैशाख २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको लिगेसीमाथि दावी गर्दै आएको छ ।

एमालेले मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्छ । साम्यवादलाई दीर्घकालीन लक्ष्य मानेपनि यो पार्टीले नेपालमा भएका लगभग सबै चुनावमा भाग लिएका छन् ।

२०४७ सालपछि एमालेका रुपमा चिनिन थालेको यो शक्तिले २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा चार सिट जितेको थियो । त्यसबेला नेपालमा एउटै कम्युनिस्ट पार्टी थियो ।

तर त्यसपछि कम्युनिस्ट शक्ति छिन्नभिन्न भयो । झापा विद्रोह, कोके हुँदै विभिन्न घटकहरूबीच एकता गरेर २०३५ सालमा नेकपा माले बन्यो । यही मालेले तत्कालीन मार्क्सवादीसँग एकता गरेर एमाले बन्यो ।

एमाले महासचिवको हैसियतमा मदन भण्डारीले पार्टीको सिद्धान्तमा जनताको बहुदलीय जनवाद (जबज) थपे । जबजलाई पार्टी सिद्धान्त मानेको एमालेले २०४८ साल यता लगातार चुनावमा भाग लिदै आएको छ । २०४८ सालमा प्रमुख प्रतिपक्ष बनेको एमालेले २०५१ सालमा सवैभन्दा ठूलो दल बनेर सरकारको नेतृत्व गर्यो। मनमोहन अधिकारी पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए ।

२०५६ सालमा फेरि दोस्रो शक्ति बन्यो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तेस्रो शक्ति बनेपनि यो पार्टीबाट माधवकुमार नेपाल र झलनाथ खनाल यही अवधिमा प्रधानमन्त्री बने । २०७० सालमा फेरि दोस्रो शक्ति भयो । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी भएपछि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री भए ।

२०७४ सालमा एमाले फेरि पहिलो दल बन्यो । चुनाव लगत्तै अर्को कम्युनिस्ट पार्टी माओवादीसँग एकता गर्दै नेकपा बन्यो । तर एकता लामो समय टिकेन, २०७७ साल पुग्दा नेकपा विघटन भएर एमाले र माओवादी पुनस्थापर्ना भयो ।

२ भदौ २०७८ मा एमाले विभाजित भयो । ०७९ सालको चुनावमा एमाले दोस्रो शक्तिमा ओर्लियो। यद्यपि नेपाली कांग्रेस सहितका दलहरूले समर्थन पाएर केपी ओली चौथौ पटक प्रधानमन्त्री भए । तर संसदको दुई तिहाईका प्रधानमन्त्री ओलीको सत्तापलट जेनजी आन्दोलनका कारण दुःखद् रह्यो ।
पछिल्लो अवस्थामा फेरि एमालेले अर्को ठुलो कम्युनिस्ट शक्तिसँग सहकार्यको प्रयास गरेको हो ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका डेढ दर्जन भन्दा बढी वाम दल–समूहहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको छ । २०८० कात्तिक १९ गते काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन गरेर नयाँ पार्टी घोषणा गरिएको थियो ।

माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै यो पार्टीमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी–समाजवादी), नेकपा (साम्यवादी), माओवादी कम्युनिस्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा समाहित भएका थिए ।

यो पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकास गर्दै संविधानमा उल्लिखित समाजवाद उन्मुख राज्यव्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्नु आजको प्रमुख कार्यभार मान्दछ ।

मार्क्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त र जनवादी केन्द्रीयतालाई संगठनात्मक आधार मान्ने यो पार्टीले आफूलाई २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टीको अविच्छिन्न उत्तराधिकारी दाबी गर्दछ ।

नेपाली कम्युनिस्ट पार्टीको दाबीअनुसार यो पार्टी जनआधारित, कार्यकर्ता केन्द्रित र सदस्य सार्वभौमसत्तामा आधारित संगठन हो, जसको लक्ष्य शोषणरहित, विभेदरहित र समतामूलक समाज निर्माण गर्नु हो ।

नेपाली कम्युनिष्ट पार्टी श्रमजीवी जनता, युवा, महिला, किसान, मजदुर, दलित, आदिवासी जनजाति, मधेसी र उत्पीडित समुदायहरूसँगै जनताकै नेतृत्वमा समाजवाद निर्माणको दिशामा अघि बढिरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल रहेका छन् । अन्तिम समयमा एकता प्रक्रियामा जोडिएका पूर्वप्रधानमन्त्री झलनाथ खनाल पार्टीको तेस्रो वरीयतामा छन् । नयाँ पार्टीको चुनाव चिह्न तारा छ ।

यसअघि संयोजक प्रचण्ड माओवादी केन्द्र र सहसंयोजक नेपाल एकीकृत समाजवादीका अध्यक्ष थिए । यस्तै तेस्रो वरीयतामा रहेका नेता खनाल एकीकृत समाजवादीका सम्मानीत नेताको हैसियतमा थिए ।

उनीहरूले प्रतिनिधिसभा निर्वाचन २०७९ मा नेपाली कांग्रेससँग चुनावी गठबन्धन गरेका थिए । कांग्रेससँगको चुनावी गठबन्धनमा माओवादी केन्द्र प्रत्यक्षतर्फ १८ र एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको थियो ।

माओवादी केन्द्र २०६४ मा सम्पन्न संविधानसभा सदस्य निर्वाचनदेखि चुनावमा भाग लिंदै आएको छ । २०५२ देखि १० वर्षसम्म माओवादी मान्दै गाउँबाट शहर घेर्ने रणनीतिअन्तर्गत ‘दीर्घकालीन जनयुद्ध’ र त्यसपछि १२ बुँदे विस्तृत शान्ति सम्झौता गर्दै माओवादी केन्द्र शान्तिपूर्ण राजनीतिमा अवतरण भएको थियो ।

माओवादीले भाग लिएको पहिलो चुनाव (२०६४ को पहिलो संविधानसभा) मा सबैभन्दा ठूलो शक्ति बनेको थियो । २०७० को चुनावमा तेस्रो दलमा झर्‍यो र २०७४ को चुनावमा पनि तेस्रो दलकै रूपमा कायम रह्यो ।

संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितालाई आफ्नो आन्दोलनको उपलब्धि दाबी गर्ने माओवादी केन्द्रबाट प्रचण्ड र डा. बाबुराम भट्टराईले सरकारको नेतृत्व गरिसकेका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक नेपाल र तेस्रो वरीयताका नेता खनालले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनीहरू दुवै जना नेकपा एमालेका तर्फबाट सरकारको नेतृत्वमा पुगेका थिए ।

२०७४ को चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ सिट प्राप्त गरेको थियो । एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ सिट जितेको थियो ।

गठबन्धन गरेर पार्टी एकीकरण गरेर एमाले र माओवादीले नेकपा नामक दल गठन गरेका थिए । तर, आन्तरिक किचलोमा फसेको नेकपाको विवाद सर्वोच्च अदालतमा पुग्यो ।

अन्ततः २०७७ पुस ५ मा सर्वोच्चको फैसलाबाट एकता खारेज भयो, एमाले र माओवादी केन्द्र फेरि अस्तित्वमा फर्किनु पर्‍यो । २०७८ भदौ २ मा नेता नेपालले नेकपा (एकीकृत समाजवादी) बनाएपछि एमाले विभाजित भयो ।

नेपाली कम्युनिस्ट पार्टीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेको छ । उसले एक क्षेत्र (बागलुङ) मा राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ ।

१४ फागुन २०८२, बिहीवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु