गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ प्रतिवेदन तत्काल सार्वजनिक गरियोस् : जेनजी फ्रन्ट
न्याय टार्न खोजे फेरि सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी
जेनजी आन्दोलनमा सक्रिय रहेका जेनजी समूहहरूले गौरी बहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको म्यादभित्र सार्वजनिक गरी कार्यान्वयन गर्न सञ्चारमाध्यमलाई खबरदारीपूर्ण अपील गरेका छन् ।
नेपाल जेन–जी फ्रन्ट, जेन–जी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेन–जी र जेन–जी सिभिक फोरमले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा वि.सं. २०८२ फागुन २२ भन्दा एक दिन पनि म्याद नथपी आयोगको प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
नेपाल जेन–जी फ्रन्ट, जेन–जी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेन–जी र जेन–जी सिभिक फोरमले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिवेदन सार्वजनिक गर्न र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
विज्ञप्तिमा वि.सं. २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ७६ जना नागरिकको गैरन्यायिक हत्या र २,२१३ भन्दा बढी घाइते भएको घटनाको स्मरण गर्दै ती घटनामा न्याय सुनिश्चित गर्न आयोग गठन गरिएको उल्लेख छ । भ्रष्टाचार निवारण तथा अभिव्यक्ति र डिजिटल स्वतन्त्रताको हक सुनिश्चित गर्न गरिएको शान्तिपूर्ण आन्दोलनमाथि तत्कालीन सरकारले गरेको दमनका कारण अवस्था जटिल बनेको जेन–जी समूहको भनाई छ ।
जनआन्दोलनपछिको सङ्क्रमणकालीन अवस्थालाई व्यवस्थापन गर्न पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम नागरिक सरकार गठन गरिएको र सो सरकारले प्रतिनिधिसभा निर्वाचनमार्फत देशलाई पुनः संवैधानिक मार्गमा फर्काउने विश्वास पनि जेन–जी समूहहरूले व्यक्त गरेका छन् । तर आयोगको म्याद पटक–पटक थपिँदै जानुले प्रतिवेदन सार्वजनिक नहुने आशङ्का बढेको जनाउँदै उनीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
जेन–जी समूहरूले जारी गरेको उक्त संयुक्त विज्ञप्तिमा २०४६ सालको मल्लिक आयोग, २०६२/६३ को रायमाझी आयोग र २०७२ सालको लाल आयोगका प्रतिवेदनजस्तै यो प्रतिवेदन पनि ओझेलमा पर्ने हो कि भन्ने शङ्का व्यक्त गर्दै यदि न्याय पुनः टारियो भने फेरि सडक आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
उल्लिखित चार समूहले संयुक्त रूपमा बिहीबार बिहान ११ बजे प्रधानमन्त्री सुशिला कार्कीसमक्ष निर्वाचनलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने स्पष्ट सार्वजनिक प्रतिबद्धता माग गर्दै खबरदारीपूर्ण मागपत्र बुझाउने जनाएका छन् ।
साथै आसन्न निर्वाचनबाट गठन हुने नयाँ प्रतिनिधिसभा र सरकारले पनि उक्त प्रतिवेदनको अपनत्व लिई दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनुपर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरिएको छ ।
जेन–जी आन्दोलनको पहिलो माग नै न्याय भएको उल्लेख गर्दै जेनजी समूहहरूले सञ्चारमाध्यमलाई “चौथो अङ्ग” का रूपमा सत्यको खोजी गर्न, पीडितको आवाजलाई प्राथमिकता दिन र निर्वाचनको माहोलमा न्यायको मुद्दा ओझेलमा नपर्न दिन आग्रह गरेका छन् । दण्डहीनता संस्थागत हुने जोखिमबारे खोजपरक र जिम्मेवार रिपोर्टिङ गर्न सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सम्पादक तथा डिजिटल प्लेटफर्मलाई अपील गरिएको छ ।
१३ फागुन २०८२, बुधवार २३:२८ बजे प्रकाशित












