विश्वेन्द्र पासवानले खोजे प्रधानमन्त्रीमा प्रभु साह

बहुजन शक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले प्रधानमन्त्रीमा आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहलाई खोजेका छन् ।

देशको प्रधानमन्त्री बन्नु पर्ने नेता साह भएको उनको भनाइ छ ।

रौतहट पुगेका पासवानले साहको विकासको कामको प्रशंसा गर्दै अब मुलुक बनाउने जिम्मेवारी साहलाई दिनुपर्ने बताए ।

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ‘मोवाइल’ छापमा मतदान गरेर प्रभु साहलाई प्रधानमन्त्री बनाउन र देशको विकासको जिम्मेवारी दिन पासवानले अपिल गरेका छन् ।

प्रभु साह देशको प्रधानमन्त्री बन्ने उम्मेदवार पनि हो भन्दै पासवानले भनेका छन, ‘प्रभु साह पिछडिएको वर्ग, दलित र अल्पसंख्यक, मुसलमान सबैको नेता हो । पूरा देशले उहाँलाई मानेको छ, सम्मान गरेको छ ।’

रौतहट सहित देशकै विकासको जिम्मेवारी अब आजपा अध्यक्ष साहलाई दिनुपर्ने बताउदै उनले सबै समुदायको समग्र विकासका लागि मोवाइलमा मतदान गर्न मतदातासंग आग्रह गरेका छन् ।

प्रभु साह  रौतहट क्षेत्र नम्बर ३ बाट उम्मेदवार छन् । साह नेतृत्वको पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ ।

नेपालको समकालीन राजनीतिमा परिचित साह संघर्ष र साहसले स्थापित नेता हुन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालबाट १० वर्षसम्म सशस्त्र संघर्ष गर्‍यो । उक्त संघर्षमा हजारौं युवाले आफ्नो जीवन र सपना साटे । त्यही जनयुद्धमा सामेल भएर राजनीतिमा लागेका साह ९ वर्ष भूमिगत भए । संकटकालमा उनी तत्कालीन शाही सेनाबाट एक वर्ष बेपत्ता पारिएका थिए ।

यसैसँग सम्बन्धित रहेर साहले ‘यातनाका २७० दिनहरू’ नामक पुस्तक निकालेका छन् । यसबाहेक साहका ‘मधेशी समस्या र समाधानको उपाय, मधेशी मुक्तिका आधारहरू, मेरा जनयुद्ध र मधेशी मुक्तिको कार्यदिशा लगायतका पुस्तकहरू प्रकाशित छन् ।

२०२८ साल वैशाख १ गते रौतहटको मौलापुरमा मध्यम परिवारमा जन्मिएका साहले स्नातकसम्मको अध्ययन गरेका छन् । उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर कानुनमा स्नातकसम्मको अध्ययन गरेपछि उनी तत्कालीन माओवादीको जनयुद्धमा सामेल भए ।

२०५५ सालमा भूमिगत भए । माओवादी भित्र उनी केन्द्रीय कमिटी सदस्य भए ।

२०६२/०६२ सालको जनआन्दोलनसँगै माओवादी शान्ति प्रक्रियामा आयो । व्यवस्थापिका पुनर्स्थापना भयो । २०६३ को अन्तरिम संसद्मा सदस्य रहे । देश संघीय प्रणालीमा गएपछि तत्कालीन माओवादी केन्द्रले आफ्नो मधेश प्रदेश अध्यक्ष उनै साहलाई बनायो ।

२०६४ सालमा संविधानसभा निर्वाचन भयो । साह रौतहट–३ बाट उम्मेदवार बने र जिते । उक्त संविधानसभामा न्याय प्रणाली समितिको सभापति भए । व्यवस्थापिका संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सभापति भएर काम गरे । संविधान मस्यौदा समितिको सदस्य भएर संविधान निर्माणमा भूमिका खेले । २०६८ र २०६९ मा क्रमशः कानुनमन्त्री र भूमिसुधार मन्त्री बने ।

पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो । त्यसमा साहले पनि रौतहट ३ बाटै चुनाव जिते ।

२०७४ र २०७९ को चुनाव पनि उनले सोही क्षेत्रबाट विजयी भए । २०७४ को चुनावमा एमाले र माओवादीले तालमेल गरेका थिए । निर्वाचनपछि पार्टी एकता भयो र नेपाल कम्युनिस्ट पार्टी बन्यो ।

नेकपाको तर्फबाट उनी २०७५ सालमा प्रदेश अध्यक्ष बने । तर कम्युनिस्ट एकता लामो समय टिकेन । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता भंग भएपछि प्रभु साह एमालेमै बसे । तर २०७९ मंसिर ४ को निर्वाचन अगाडि एमाले छाडे ।

२०७९ को निर्वाचनमा साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तालमेल गर्नै नहुने सुझाव दिएका थिए । त्यसबेला मधेशमा मिहिनेत गरेर एमाले प्रवेशको लहरै चलाएका उनी आफ्नो सुझाव नलागेपछि ओलीसँग झस्किए । निर्वाचनको मुखैमा ओलीलाई चकमा दिँदै रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दिए । निर्वाचन जिते । त्यसपछि बनाए आम जनता पार्टी (आजपा) ।

हाल आजपाका अध्यक्ष रहेका उनी रौतहट–३ बाटै उम्मेदवार छन् । मधेशको खास नेता बन्ने हुटहुटीका साथ अगाडि बढिरहेका साह नेतृत्वको पार्टीले जनादेश पार्टीसँग चुनावी तालमेल गरेको छ ।

तालमेलबाट प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये ९८ क्षेत्रमा उम्मेदवार उठाएको छ । समानुपातिकतर्फको ११० सिटमै बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ ।

१३ फागुन २०८२, बुधवार २२:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु