अफलाइन राइड शेयरिङमा ठगी र लुटपाट

अफलाइन राइड शेयरिङमा ठगी र लुटपाटको घटना हुने गरेको पाइएको छ ।
अफलाइन राइड शेयरिङमार्फत यात्रा गर्दा ठगी, डकैती, लुटपाट र दुर्व्यवहार जस्ता घटना हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ ।

बुधबार एक भिडिओ सन्देश जारी गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले ‘अफलाइन राइड’ असुरक्षित हुने भएकाले यस्तो यात्रा नगर्न आग्रह गरेको हो ।

प्रहरीका अनुसार आधिकारिक मोबाइल एप प्रयोग नगरी गरिने यात्रामा दुर्घटना भएमा बीमा दाबी गर्न मिल्दैन भने आपराधिक घटनाको जोखिम समेत उच्च रहन्छ । राइड सेवा प्रदायक कम्पनीको एप प्रयोग नगरी सिधै मोलमोलाइ गरेर यात्रा गर्दा चालक र सवारीको कुनै पनि विवरण सिस्टममा रेकर्ड हुँदैन ।

यसरी विवरणको अभाव हुँदा यात्रुमाथि कुनै आपराधिक घटना भइहालेमा दोषीको पहिचान गर्न र उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निकै कठिन हुने प्रहरीले जनाएको छ । साथै, प्रणालीमा रेकर्ड नभएको अवस्थामा दुर्घटना भएमा यात्रुले पाउने कानुनी बीमा सुविधाबाट समेत वञ्चित हुनुपर्ने स्पष्ट पारिएको छ ।

आपराधिक घटना न्यूनीकरण र सुरक्षित यात्राका लागि प्रहरीले अनिवार्य रूपमा कानुनी रूपमा दर्ता भएका कम्पनीका मोबाइल एपमार्फत मात्र राइड बुक गर्न निर्देशन दिएको छ । यात्रुहरूलाई एपमा देखिएको सवारी विवरण र आफूलाई लिन आएको सवारीको नम्बर प्लेट पूर्ण रूपमा रुजु गरेर मात्र यात्रा सुरु गर्न सुझाव दिइएको छ ।

त्यसैगरी, सवारी साधनमा चढ्नुअघि त्यसको भौतिक अवस्था यकिन गर्न र यात्रा अवधिभर मोबाइलको लोकेसन अन राख्न पनि प्रहरीले आग्रह गरेको छ । विशेषगरी रातको समयमा वा सुनसान सडकमा यात्रा गर्दा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्नो राइडको विवरण र लोकेसन आफन्त वा नजिकका साथीभाइलाई अनिवार्य रूपमा सेयर गर्न प्रहरीको अनुरोध छ ।

राइड शेयरिङले नागरिकको दैनिक यात्रालाई सहज बनाए पनि सामान्य लापरबाहीले गम्भीर र अप्रिय घटना निम्त्याउन सक्ने भन्दै प्रहरीले सबैलाई सतर्क रहन अपिल गरेको छ ।

१४ फागुन २०८२, बिहीवार २३:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु