झुटो मुद्दा लगाउनेहरु दण्डको भागीदार
झापा । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतले पहिलोपटक चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ बर्षका विशाल साँवा लिम्बूलाई निर्दोष साबित गर्दै पाँच हजार क्षतिपूर्ति दिने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले साँवालाई निर्दोष साबित गर्दै पाँच हजार क्षतिपूर्ति भराउने निर्णय गरेको हो ।
अदालतले झुटा जाहेरी दिई अनाहकमा अदालतको समय बर्बाद गरेको भन्दै झापा शान्तिनगर–१ की सुकमाया थाम्सुहाङलाई तीन हजार जरिवाना र पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार नवराज आचार्यले जनकारी दिए ।
सुकमायाले २०७२ पुस २२ गते राति साँवाले आफ्नो घरबाट १६ हजार मूल्यको मोबाइल, नगद १६ हजार, कुवेती ६ रुपैयाँसहित १ लाख ५७ हजार ३०० मूल्य बराबरको चोरी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
१० वैशाख २०७३, शुक्रवार ०६:३७ बजे प्रकाशित