टिप्ताला नाकासंग चीन जोड्ने सडकलाई प्राथमिकतामा राख
पाँचथर । पाँचथर तथा ताप्लेजुङ हुँदै ओलाङचुङगोलाको टिप्ताला नाकासंग चीन जोड्ने सडक सरकारको प्राथमिकतामा पर्न सकेको छैन । यसप्रति स्थानीयले गुनासो गरेका छन् । उत्तरी र दक्षिणी नाका जोड्न छोटो सडक हुने राष्ट्रिय योजना आयोगबाट चालु आर्थिक वर्षमा ‘तमोर कोरिडर’ नामाकरण भएपनि बजेट, निर्माणको प्राथमिकता तथा लक्ष्यका हिसाबले प्राथमिकतामा पर्न नसकेको स्थानीय बताउँछन् । चालु आर्थिक वर्षमा पनि कम बजेट परेको यो सडकखण्डमा ‘तमोर करिडर’ नामाकरण भएपनि आगामी आर्थिक वर्षका लागि पनि प्राथमिकतामा राखेर बजेट छुट्याउने प्रयास नभएको बताइँदैछ । आगामी आर्थिक वर्षका लागि बजेट तयार गर्ने समय चलिरहँदा यो सडकका लागि प्राथमिकतामा राखेर बजेट बनाउने काम नभएको सडक विभाग स्रोतले जानकारी दिएको छ ।
चीनसँग पारस्परिक व्यापारिक सम्बन्धसँग ताप्लेजुङका विभिन्न विकट गाउँलाई यो सडकले राहत पु¥याउने भएपनि प्राथमिकतामा नपर्दा स्थानीय रुष्ट छन् । उनीहरु ताप्लेजुङका सीमावर्ती गाउँ चिनियाँबजारमा निर्भर छन् ।
१० वैशाख २०७३, शुक्रवार ०६:१९ बजे प्रकाशित