‘शिरीषको फूल’ जापानमा

जापान । दोस्रो विश्वयुद्धको बर्मा मोर्चामा नेपालीले देखाएको बहादुरी र निराश सिपाहीको असफल प्रेमकथा समेटिएको फिल्म ‘शिरीषको फूल’ जापानमा रिलिज भएको छ । साढे दुई साता नियमित प्रदर्शन हुने गरी मध्य टोकियोको शिवुयास्थित युरो लाइफ हलमा फिल्म रिलिज भएको हो। जापानको पब्लिक थिएटरमा नेपाली फिल्म रिलिज भएको यो पहिलो हो । पारिजातको चर्चित उपन्यासमाथि बनेको यो फिल्म हेर्न पहिलो दिन जापानी दर्शकको भीड थियो ।
‘हामीले नेपालमा वर्ष्दिनअघि जुन पीडा भोग्यौं, आज जापानीले भूकम्पको उस्तै पीडा भोगिरहेका छन्,’ फिल्म शोको उद्घाटन गर्दै नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले भने, ‘यस्तो अवस्थामा यो फिल्म साझा संवेदना साटासाट गर्ने माध्यम पनि बनेको छ।’ हालै जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूको पहलमा सयौं जापानीलाई नेपाली खानेकुरा पुर्याएको सन्दर्भ समेत जोड्दै राजभण्डारीले ‘शिरीषको फूल’ ले सांस्कृतिक रूपमा दुई समाजलाई जोड्न सघाउने दाबी गरे । जापानी निर्देशक डा. तोशिआकी इतोहले सन् २०१२ मा फिल्म बनाएका थिए ।
११ वैशाख २०७३, शनिवार १५:१३ बजे प्रकाशित