प्रचण्डको इच्छाविपरित फेरिए चितवनका प्रहरी प्रमुख
नेपाल प्रहरीले चितवनका प्रहरी प्रमुख फेरिएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को इच्छाविपरित चितवनका प्रहरी प्रमुख फेरेको जनाइएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा सरुवा गरिएको छ ।
जिप्रका चितवनमा एसपी ओमप्रसाद अधिकारीलाई पठाइएको छ । उनी जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा कार्यरत थिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी सरुवाको निर्णय गरेका हुन् ।
मंगलबार चितवनका प्रहरी प्रमुखसहित सहित ७ जना प्रहरी उपरीक्षक एसपीको सरुवा गरिएको छ ।
दिपशम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण, रेवती ढकाललाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गठन नं २, भोलाबहादुर रावललाई काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण, किसान सिंह थापालाई नेपाल प्रहरी पहरा गण र विकासराज खनाललाई काठमाडौं उपत्यका प्रहरी शिक्षालय सरुवा गरिएको छ ।
यस्तै, १६ जना एसपीको पदस्थापन गरिएको छ भने ६ जना डीएसपीको सरुवा गरिएको छ ।
अछामको प्रहरी प्रमुखमा डीएसपी तुलसीराम अर्याल र ताप्लेजुङमा बालनरसिंह राणालाई पठाइएको छ ।
यस्तै डीएसपी कोमल शाहलाई नगर प्रहरी कार्यालय, रामहरि पाण्डेलाई नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण, नरहरि रेग्मीलाई प्रहरी वृत्त ठिमी र मनोहरप्रसाद भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुला सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२७ माघ २०७७, मंगलवार २१:३७ बजे प्रकाशित





