यी यी हुन मन्त्रिपरिषद बैठकका निर्णय -चुनावदेखि बिभिन्न नियुक्तिसम्म

२७ माघ, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

बैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार वैशाख २७ गते दोस्रो चरणमा कर्णाली, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

आफूलाई पार्टीभित्रैबाट काम गर्न नदिइएको भन्दै प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै ताजा जनादेशका लागि वैशाख १७ र २७ गते निर्वाचन गर्न सिफारिस गरेका थिए । सो सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले उसैदिन सदर गरिदिएकी थिइन् ।

त्यसविरुद्ध परेका एक दर्जन बढी रिटमाथि सर्वोच्च अदालतमा बहस हुँदै आएको छ । संसद विघटनको निर्णयलगत्तै दुई खेममा विभाजित नेकपाको आधिकारिकताको विवाद पनि निर्वाचन आयोगले टुंगो लगाउन सकेको छैन ।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य

हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

ऊर्जा मन्त्रालयले शाक्यलाई कात्तिक २१ गते नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको थियो । त्यसपछि उनलाई कायममुकायमको जिम्मेवारी दिइएको थियो ।

एसईई अब विद्यालयले लिन नपाउने

यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा एसईई पुनः राष्ट्रिय परीक्षा बोर्डले नै लिने भएको छ । गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

२६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले पुनः बोर्डले परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा कक्षा १० को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

शिक्षा सचिव गोपीनाथ मैनाली सरकारको यो निर्णयले विद्यालयले आफै मूल्यांकन गर्दा देखिएका समस्या नआउने बताए ।

२०७६ चैतमा स्थगित एसईई २०७७ जेठमा मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।

सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने तयारी

सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिएको बताए ।

नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै उनले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको बताए ।

उनले पछिल्ला केही दिनमा स्वतन्त्रताका आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने पाइएकाले त्यसलाई नियमन गर्न निर्देशिका ल्याउन लागिएको पनि जिकिर गरे ।

‘लामो राजनीतिक द्वन्द्वबाट स्थिापित लोकतन्त्रिक शासन पद्धिति माथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमको गतिविधि खेदजन्य छ’ उनले भने ।

‘तोकिएको मितिमै निर्वाचन हुन्छ’

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले निर्वाचनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध सरकारले मिलाइसकेकाले तोकिएकै मितिमा निर्वाचनमा हुनेमा कुनै भ्रम नपाल्न सबैमा आग्रह गरे ।

तोकिएकै मितिमा निर्वाचन गर्नको निम्ति सुरक्षा परिषद्को बैठकले निर्णय गरेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरिसकेको बताउँदै उनले प्रधानमन्त्रीले मंगलबार निर्वाचन आयोग पुगेर निर्वाचनको वातावरण बनाउन सरकार तयार रहेको र कुनै अलमलमा नपर्न अनुरोध गरेको पनि जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

 

२७ माघ २०७७, मंगलवार २१:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु