संघीयता खारेजीको घोषणा गर्न केपी ओलीलाई कार्यक्रताको सुझाव

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ निरुदेवी पालले संघीयता नै खारेज गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएकी छन् ।
‘संघीयता खर्चिलो भयो र प्रदेशको त झन् कामै देखिएन । त्यसकारण बरु स्थानीय तहलाई थप बलियो बनाऔं र संघीयता खारेज गरिदिने आँट प्रधानमन्त्री ओलीले गर्नुपर्छ’ पालले भनिन् ।
पालले सामाजिक सञ्जाल फेसबुकमार्फत पनि प्रधानमन्त्रीले संघीयता खारेज गर्नुपर्ने र प्रतिनिधिसभाको सिट संख्या १०५ मा झार्नुपर्ने बताएकी छन्। यसअघि पनि उनले पटक पटक प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएकी छन् ।
विघटित प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिकी सदस्य समेत रहेकी पाल हाल नेकपा ओली समूहमा छिन् ।
संघीयता नै खारेज गर्नुपर्छ भनेर आफुले पहिलो पटक नभनेको पनि उनको प्रष्टीकरण छ ।
‘मैले तीन वर्ष पहिला पनि भनेको छु’ पालले अनलाइनखबरसंग भनिन्, ‘मलाई कसैले कारबाही गरे पनि गरुन्, वास्तवमा यो संघीयता कामै छैन । नेतालाई जागिर खुवाउने ठाउँ मात्रै हो । जनताले अधिकार चाहेका हुन् । दार्चुलाको मान्छे काठमाडौं आउन नपरोस्, अधिकार तलै पुर्याइदेयोस् भन्ने हो ।’
२३ माघ २०७७, शुक्रवार ०९:२९ बजे प्रकाशित