पूर्वमाओवादी नेताहरुलाई ओलीले भने, बार्गेनिङ गर्ने भए प्रचण्डतिरै फर्किनुस्

पूर्वमाओवादीबाट ओली समूहतिर गएका नेताहरुसँग प्रधानमन्त्री ओली चिढिएका छन्।

ओली समूहतिर लागेका पूर्वमाओवादी नेताहरुले आफ्नो हैसियतभन्दा बढी बार्गेनिङ गर्न थालेको भन्दै ओली चिढिएका हुन्।

पूर्वमाओवादी पृष्ठभूमिका ओलीतिर गएका नेताहरुमध्ये गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अनावश्यक बार्गेनिङ गरेको भन्दै ओली चिढिएका हुन्।

ओलीनिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुले केन्द्रीय समिति सदस्य बनाउनुपर्ने भन्दै आफूनिकट कार्यकर्ता लिष्ट बोकेर बालुवाटार धाउन थालेपछि ओली चिढिएका हुुन्।

पार्टी केन्द्रीय समितिको संख्या ११९९ बनाउने निर्णय गरेसँगै ओली समूहमा केन्द्रीय सदस्य हुन चाहने आकांक्षी बढ्दै गएका छन्। कार्यकर्ताको तल्लो तहसम्म केन्द्रीय सदस्य हुने ‘हुटहुटी’ जागेपछि ओली अप्ठ्यारोमा परेको बताइन्छ।

ओली समूहमा थापा, रायमाझी, भट्ट र साहले केन्द्रीय सदस्य बनाउनका लागि कार्यकर्ताको लिष्ट बोकेर हिँड्ने गरेका हुन्। स्रोतका अनुसार गतसाता शहरी विकासमन्त्री प्रभु साहले २०० जना कार्यकर्तालाई केन्द्रीय सदस्य बनाउनुपर्ने लिष्ट बोकेर बालुवाटार गएपछि ओलीले ‘बार्गेनिङ’ नगर्न सम्झाएका थिए। स्रोतले भन्यो, ‘‘जनाधार केही छैन, खाली केन्द्रीय सदस्य बनाउनुपर्‍यो भन्यो, बालुवाटार आयो। तपाईहरु जहिले बार्गेनिङ गर्ने रु यो दिक्दारीभन्दा बरु प्रचण्डतिरै फर्किनुस्’’ भेटमा ओलीले भनेका थिए।

१५०० जनाको केन्द्रीय समितिमा नेता साहले आफूलाई २०० जना केन्द्रीय सदस्य चाहिने भन्दै बार्गेनिङ गरेका छन्। यता ५५ जनालाई केन्द्रीय समितिमा राखिसकेका सुदूरपश्चिमका नेता लेखराज भट्टले पनि आफ्नो कोटा बढाउन माग गर्दै आएका छन्। ओली समूहले सुदूरपश्चिममा गरेको भेलापछि भट्टको बार्गेनिङ बढे पनि प्रचण्ड–नेपाल पक्षको धनगढी सभापछि भट्ट केही हच्किएका छन्।

गृहमन्त्री थापाले पनि केन्द्रीय समितिमा आफूलाई कोटा नपुगेको भन्दै सदस्य थप्न माग गरिरहेका छन्। उर्जामन्त्री रायमाझीले त आफूनिकट नेता–कार्यकर्तालाई फोन गर्दै ‘‘केटा प्रचण्ड समूहमा के काम, केन्द्रीय सदस्य चाहिने भए यता आऔं’’ भन्दै फोन गर्न थालेका छन्। रायमाझीले करिब १ दर्जनजति कार्यकर्तालाई फोन गरेर ‘मैले तपाईलाई केन्द्रीय सदस्य बनाएँ है’ भने पनि उनीहरुले अस्वीकार गरिदिएको स्रोत बताउँछ।

ओलीले पूर्वमाओवादी नेताहरुलाई हैसियतभन्दा बढी ‘भ्यालु’ दिएको भन्दै ईश्वर पोखरेल लगायतका नेताहरुले असन्तुष्टि जनाएका छन्। ‘‘चुनाव हारेका र कहिल्यै मन्त्री हुन नसक्ने मान्छेहरुलाई एकाएक मन्त्री बनाइयो। अझै पनि उहाँहरुको चित्त बुझेको छैन। यसरी पार्टी कसरी चल्छ रु’’ पोखरेलको सचिवालयका एक सदस्यले भने, ‘‘सायद प्रधानमन्त्रीज्यूले त्यही कुरा सम्झाउनुभएको होला।’’

ओलीले पूर्वमाओवादी समूहबाट गृहमन्त्रीमा थापा, उर्जामन्त्रीमा रायमाझी, उद्योगमन्त्रीमा भट्ट, शहरी विकासमन्त्रीमा शाह, खानेपानीमन्त्रीमा मणि थापा, श्रममन्त्रीमा गौरीशंकर चौधरी, खेलकूदमन्त्रीमा दावा तामाङलाई नियुक्त गरेका थिए। नियुक्त मन्त्रीमध्ये खानेपानीमन्त्री सांसदसमेत थिएनन् भने खेलकूदमन्त्री तामाङ प्रदेश सभाको चुनाव हारेका मान्छे हुन्।

उता पूर्वजनमुक्ति सेनाका कार्यकर्तालाई आफ्नो समूहमा ल्याएर प्रचण्डलाई दवाव दिने रणनीतिमा रहेका ओली पछिल्लो समय बार्गेनिङकै कारण पछि हटेका छन्। ओली समूहतिर लागेका भनिएका कमाण्डर कालीबहादुर खामले मन्त्री पद मागेपछि ओली अप्ठ्यारोमा परेका छन्। खाम मात्र होइन, पूर्वजनसेनाका सदस्यहरुले पनि १५–२० जनाको टुकडी बनाएर बालुवाटारसँग बार्गेनिङ गर्न थालेपछि ओलीले ‘यसरी त कसरी सकिन्छ रु’ भन्न थालेका छन्।

केन्द्रीय समितिको संख्या बढाएर कार्यकर्ता रोक्ने गृहमन्त्री थापाको रणनीतिसमेत असफल भएपछि ओली चिढिएका हुन्। निर्वाचन आयोगले एकताको बेला रहेका ४४१ जना केन्द्रीय सदस्यलाई मात्र मान्यता दिएपछि ओलीले थपेका सदस्यहरु स्वतः पदमुक्त भएका छन्।

२३ माघ २०७७, शुक्रवार ०९:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु