प्रधानमन्त्रीलाई हेलिकप्टर चढ्न विमानस्थल जान नपर्ने, बालुवाटारमै हेलिप्याड

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड बनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार नागरिक उड्डयन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण काम केही दिनअघि सकिएको हो।

बालुवाटारमै हेलिप्याड बनेपछि प्रधानमन्त्री ओली बुधबार विमानस्थल नगई बालुवाटारबाटै हेलिकप्टर चढेर गएका थिए।

‘ुप्रधानमन्त्रीज्यू नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो,’ प्रेस सल्लाहकार थापाले भनेका छन्,‘साँझ निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो।’

बालुवाटारमै हेलिप्याड बनेपछि अब प्रधानमन्त्री ओलीले हेलिकप्टरमा बाहिर जाँदा विमानस्थलको बाटो प्रयोग नगर्ने र यसले सर्वसाधारणलाई जामको सास्ती नहुने थापाले उल्लेल गरेका छन्।

‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जानआउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन,’ थापाले भनेका छन्।

२८ कात्तिक २०७७, शुक्रवार ०५:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु