जनकपुरमा रेल गुड्न नपाउँदै रेल्वे लिकको ‘क्लिप’ चोरी

नेपाली रेल जनकपुर आइपुगेको २ महिना पूरा हुँदैछ । एक इन्जिन र चारवटा बोगी रहेको रेलका दुई सेटलाई दुई महिनाअघि जनकपुरमा भव्य स्वागत गरिएको थियो ।

तर औपचारिक उद्घाटन हुन नपाउँदै पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्नुपर्ने रेल्वे लिकको ‘क्लिप’ चोरी हुन थालेको छ । जयनगरदेखि कुर्थासम्म ३५ किलोमटर लिक निर्माण सम्पन्न भइसकेको छ । कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्म कुल ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ ।

यता निर्माण हुँदै छ अर्कोतिर निर्माण भइसकेको लिकको ‘क्लिप’ धमाधम चोरी भइरहेको छ । रातोपाटीलाई प्राप्त तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा ६ सय क्लिप चोरी भएका छन् । लिकमा प्रयोग हुने एउटा क्लिपमा करिब आधा केजी फलाम हुन्छ । क्लिप चोर्नेहरूले कवाडमा बेच्ने गरेको बताइएको छ ।

भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा कुर्थासम्म निर्माण सम्पन्न भएको रेल्वे लिकको क्लिप धमाधम चोरी भइरहेको रेल विभागका प्रवक्ता अमन चित्रकारले स्वीकार गरेका छन् । चित्रकारले भने– ‘लिकको क्लिप बेला–बेला चोरी भइरहेको छ । देशको माया नगर्नेहरूले क्लिप चोरेको जस्तो लाग्छ ।’

२८ कात्तिक २०७७, शुक्रवार ०५:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु