गगन थापाविरुद्ध हेम बोम्जनको उम्मेदवारी, भन्छन – मैले चुनाव जितसकेँ

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा हेम बोम्जनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस महामन्त्री गगन थापा साझा उम्मेदवार छन् ।
काठमाडौं ४ आफ्नो लागि सुरक्षित नरहेको भन्दै गगन थापाले चुनाव क्षेत्र नै परिवर्तन गर्न खोजेका थिए । तर, अन्तिममा काठमाडौं ४ बाटै उम्मेदवारी दिएका छन् । यो गगन थापाको कमजोरी रहेको भन्दै स्वतन्त्र उम्मेदवार हेम बोम्जन गगन थापाकै कारण आफुलाई थप सहज भएको बताउँछन् ।
‘उहाँ (गगन थापा) हार्ने मानसिकताले सुरक्षित ठाउँ खोज्दै हुनु हुन्थ्यो । जहाँ बाट पनि हार्ने निश्चितै भए पछि अन्तिममा फेरि काठमाडौ ४ बाटै उम्मेदवार दर्ता गर्नु भएको छ’ स्वतन्त्र उम्मेदवार बोम्जन भन्छन्, ‘हामीले चार चरणको घरदैलो विभिन्न शिर्षकमा गरिसकेका छौं । यसकारण पनि थप विश्वास बढेको छ, बहुमत मत पाउनेमा ढुक्क छु ।’ अब फेरि घरदैलोको तयारीमा रहेको भन्दै उनले अब जनताको बीचमा प्रतिबद्धता पत्र सहित जाने बताए । यसैमा उनी थप्छन्, ‘निर्बाचन आयोगले कुन चिन्ह दिन्छ त्यसैमा जनताले मत दिनेछन् । अब आयोगले दिएको चुनाव चिन्हबारे जनतालाई जानकारी गराए पुग्छ ।’
हेम बोम्जन काठमाडौं महानगरपालिका ११ कपनबासी हुन् । भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय बोम्जोन चुनाव जितेपछि कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर आफ्नो योजना रहेको सुनाउँछन् । कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले कृषिमा मुलुकलाई आत्मनिर्भर गराउँदै परनिर्भर अन्त्य गर्ने एजेण्डा सुनाएका छन् । भ्रष्टाचारलाई निर्मुल पार्ने पनि उनको चुनावी एजेण्डा छ ।

२४ असोज २०७९, सोमवार १२:०६ बजे प्रकाशित